महाधिवेशन नजिकिँदा एनआरएनएमा नेतृत्वको रस्साकस्सी

आप्रवासन आप्रवासन

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनको मिति नजिकिएसँगै संघभित्र नेतृत्व हत्याउन रस्साकस्सी सुरु भएको छ ।  

आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा हुने महाधिवेशनका लागि वर्तमान उपाध्यक्षद्वय रोविन शेरचन र डा. हेमराज शर्मा मुख्य दाबेदारका रूपमा अगाडि आएको एनआरएनएका अभियन्ताहरु बताउँछन् । 

नेतृत्वको दौडमा शेरचन र शर्माबाहेक केशव पौडेललगायत अन्य अभियन्ताको नाम चर्चामा रहे पनि मुख्य प्रतिस्पर्धा शर्मा र शेरचनबिच नै हुने देखिएको उनीहरुको भनाइ छ। दुवै नेताले आन्तरिक रणनीति बनाउनेदेखि प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न गृहकार्य तीव्र पारिसकेका छन् । 

अध्यक्ष पदमा हालका उपाध्यक्षहरु नै भिड्ने देखिँदा अर्का उपाध्यक्ष रामशरण सिम्खडा भने महासचिवका लागि लबिङमा छन् । उनी एनआरएनएमा प्रभावशाली मानिन्छन् ।  नेतृत्वको यो रस्साकस्सीले हालका अध्यक्ष डा. बद्री केसी समूह भनी चिनिएका अभियन्ताहरू नै विभाजित बन्न सक्ने स्थिति सिर्जना भएको बताइन्छ ।

नेतृत्व चयनको होडबाजीसँगै निर्वाचनको मोडालिटी (प्रणाली) लाई लिएर पनि संघभित्र बहस चर्किएको छ । संघका अर्का अध्यक्ष महेश श्रेष्ठसहित एउटा ठुलो समूहले यस पटकको निर्वाचन काठमाडौँमै भौतिक उपस्थितिमा गराउनुपर्ने अडान राखेको छ भने बद्री केसी नेतृत्वको समूहका केही अभियन्ताहरू पूर्ण अनलाइन भोटिङ प्रणालीको पक्षमा उभिएका छन् । यही विवादका बीच शनिबार महासचिव गौरीराज जोशीद्वारा सञ्चालित स्टेरिङ कमिटीको आठौँ बैठकले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै निर्वाचन प्रक्रियाबारे अन्तिम निर्णय लिने सहमति गरेको छ ।
बैठकले अध्यक्षद्वय डा. केसी र श्रेष्ठको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग समन्वयकारी बैठक आयोजना गर्ने निर्णय गरेको हो । मन्त्रालयसँग ३ देखि ५ दिनभित्र औपचारिक छलफल गरी त्यसपछि मात्र निर्वाचन प्रक्रियासम्बन्धी आधिकारिक निर्णय गरिने संघले जनाएको छ । नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने सदस्यहरूलाई अनलाइन माध्यमबाटै मन्त्रालयसँगको छलफलमा सहभागी गराइनेछ ।
निर्वाचनको मोडालिटीमा विवाद कायमै रहे पनि संघले प्राविधिक तयारी र समयतालिका भने निर्धारण गरेको छ । बैठकले सचिवालयलाई अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय अनलाइन भोटिङ कम्पनीको खोजी गर्ने जिम्मेवारी दिएको छ । महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) छनोटको समयतालिका अनुसार सन् २०२६ जनवरी २५ तारिख राति १२ बजेबाट नयाँ वा छुटेका सदस्यता आवेदन स्वतः बन्द हुनेछ । सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई जनवरी ३१ मा सदस्यताको अन्तिम नामावली प्रकाशित हुने जानकारी गराइनेछ र सोही मितिलाई ‘कट अफ डेट’ मानिनेछ ।

यसैगरी, एनसीसीहरूले २०२६ फेब्रुअरी १ देखि १० सम्म डेलिगेट सिफारिस गर्नुपर्ने र १४ फेब्रुअरीभित्र विवरण सचिवालयमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ । एउटै देशमा दुई फरक टिम वा विवाद देखिएको हकमा डेलिगेट कसरी चयन गर्ने भन्ने विषयमा कार्यविधि तयार गरी ३१ जनवरीभित्र निर्णय गरिने तयारी छ ।

 तोकिएको सदस्यता शुल्क नबुझाएमा सम्बन्धित देशका प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिन नपाउने गरी कडाइ गरिएको छ । आगामी बैठकमा १२ औँ महाधिवेशनको मुख्य नाराका विषयमा पनि छलफल गरी प्रस्ताव पेस गरिने संघले जनाएको छ । छिन्नभिन्न अवस्थामा रहेका एनआरएनए केहीअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकीकृत भएका थिए । एकतापछि एनआरएनएको १२औँ महाधिवेशन हुन लागेको हो ।