मधेसमा एक हजार २३७ मतदान स्थल अति संवेदनशील, कुन जिल्लामा कति ?

आप्रवासन आप्रवासन

 प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा चार हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेशको ८ वटै जिल्लामा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन प्रहरीले निर्वाचन सुरक्षा योजना तयार पारेको छ । सबै जिल्लाका मतदान स्थल निरीक्षणपछि प्रहरीले सुरक्षा चुनौतीको अवस्थाका आधारमा तिनलाई तीन भागमा वर्गीकरण गरेको छ ।

जेनजी मुभमेन्टपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदान स्थललाई प्रहरीले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।

मधेस प्रहरीका अनुसार ८ वटै जिल्लाका कुल मतदान केन्द्रमध्ये खासगरी सुरक्षा चुनौती रहेका स्थलहरूलाई तीन भागमा वर्गीकरण गरेर त्यसैअनुरुप सुरक्षा रणनीति तयार पारिएको प्रहरीको भनाइ छ । सुरक्षा चुनौती भएको केन्द्रलाई अति संवेदनशील र नभएको ठाउँको मतदान स्थललाई सामान्य वर्गीकरणमा राखिएको मधेस प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मधेसका एक हजार २३७ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अति संवेदनशील वर्गीकरण गरिएको मधेस प्रहरी प्रमुख एवं डीआइजी गोविन्द थपलियाले बताए । उनका अनुसार ८ वटै जिल्लामा कुल १६० मतदान केन्द्रलाई मात्रै सामान्य वर्गीकरणमा राखिएको छ ।

  • कुन जिल्लामा कति मतदान स्थल अति संवेदनशील ?

पर्साबाहेक मधेसका ७ जिल्लाका विभिन्न मतदान केन्द्र अति संवेदनशील वर्गीकरणमा छन् । सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’मा राखिएको छ ।

यहाँको २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको मधेस प्रहरीले जनाएको छ ।

यसैगरी सिराहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको मधेस प्रहरीले जानकारी दिएको छ ।

प्रदेशका ८ वटै जिल्लामा ७६३ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । सर्लाहीमा सबैभन्दा बढी १३१ मतदान स्थल संवेदनशील सूचीमा छन् ।

एकीकृत सुरक्षा योजना अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थलमा सुरक्षाकर्मीको व्यवस्था गरिने मधेस प्रहरी प्रमुख थपलिया बताउँछन् ।

  • मधेसमा मात्रै ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटिँदै

सुरक्षा चुनौती भएको मतदान स्थलमा सोही अनुसार प्रहरी परिचालन गर्ने रणनीति तयार पारिएको छ । ८ वटै जिल्लामा व्यापक संख्यामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिने तयारी गरिएको छ । सुरक्षाका तीन वटै निकायबाट गरी मधेसमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने तयारी गरिएको जनाइएको छ ।

मधेस प्रहरीका अनुसार मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसपछिको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटाइने सुरक्षा योजना बनाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मधेसका ८ वटै जिल्लामा करिब ४० हजार नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको मधेस प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीबाट १० हजार प्रहरी खटाउने तयारी गरिएको सशस्त्र प्रहरी बल मधेस प्रदेशले जनाएको छ । यसको अलावा नेपाली सेना पनि परिचालन हुने छ ।

मधेसमा सेना कति खटाउने भन्ने निर्धारण हुन बाँकी रहेको सैनिक स्रोतले जनाएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालन हुने नेपाली सेनाले जानकारी दिएको छ ।