सुदन गुरुङले भनेको ‘सुरक्षा थ्रेट’ के हो ?

आप्रवासन आप्रवासन

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओ मागेर प्रशासनमा निवेदन दिइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मी माग गर्दै रास्वपाले निवेदन दिएको हो 

गुरुङले चाहिँ गाउँघरमा हतियारधारी व्यक्तिहरू प्रवेश गरेर अस्वाभाविक हर्कत गरेको खबर पाएपछि पार्टीले नै सुरक्षाकर्मी माग गरेको बताए ।

‘मलाई व्यक्तिगत रूपमा डर छैन । म आफ्नै गाउँ–ठाउँमा छु,’ उनले भने, ‘तर पुराना दलका कार्यकर्ताहरूले गाउँलेहरूलाई यस्तो त्रास देखाएका छन् कि, मानिसहरू मनमा मलाई समर्थन गरे पनि खुलेर बोल्न डराइरहेका छन् । विभिन्न गाउँमा हतियारसहितका मानिसहरू देखिएको र हाम्रा समर्थकलाई धम्क्याइएको सूचना पार्टीमा पुगेपछि सुरक्षा माग गरिएको हो ।’

गुरुङ चुनाव प्रचारका क्रममा यतिबेला आरुघाटमा छन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ भने कुनै थ्रेट नरहेको दाबी गर्छन् । रास्वपाले दाबी गरेजस्तो सुरक्षा चुनौती आफ्नो संयन्त्रबाट जानकारीमा नआएको र निवेदनसँगै सर्च गर्न थालिएको उनले सुनाए ।

‘उहाँहरूको सुरक्षा गर्ने जिम्मा सरकारको हो । हामीले सुरक्षाको पूर्ण व्यवस्था मिलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘बाहिर हल्ला आएजस्तो थ्रेट छैन ।’

प्रशासनले उम्मेदवारलाई आवश्यक पर्दा पीएसओ लगायतको सुरक्षा प्रबन्ध मिलाउने उनले बताए ।

केही दिनअघि आफ्नै गाउँ चुमनुब्रीबाट चुनावी प्रचार थालेका गुरुङ गाउँमा मान्छे नभेटेपछि फर्किने क्रममा छन् । सुरक्षाकर्मीको माग व्यक्तिगत नभई पार्टीले आफ्नो उम्मेदवारको सुरक्षाका लागि मागेको उनले सुनाए ।

गुरुङले चुनाव प्रचारका क्रममा आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । खासगरी बुढीगण्डकी आयोजना निर्माण, माथिल्ला क्षेत्रमा सडक विस्तार, स्याउखेती र बजारीकरण लगायत विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

उनले आफूले सहजै चुनाव जित्ने दाबी गरेका छन् । ‘यसअघि जितेर गएकाहरूले केही गरेनन्, त्यसैले जनतामा वितृष्णा छ,’ उनले भने, ‘पुराना दलहरूले समाजलाई विभाजन गरेका छन् । मानिसहरू परिवर्तन चाहन्छन्, तर सिन्डिकेटको डरले खुल्न सकेका छैनन् ।’

गुरुङले आफू स्वतन्त्र रहँदा र पार्टीबाट उम्मेदवार हुँदा फरक अनुभूति गरेको बताए । ‘पहिला गाउँमा जाँदा मसँग कुराकानी गर्न सबै नजिकै आउँथे । अहिले रास्वपाको उम्मेदवार हो भनेका छन्, टाढै बस्छन्,’ अघि भने, ‘तर चुनाव जित्न गाह्रो छैन । चुनावी प्रचारमा नआए पनि भोट दिन्छौँ भनेका छन् ।’

उनले जेनजी आन्दोलनलाई बदनाम गराउन साइबर सेना परिचालन गरिएको र भ्रामक प्रचार गरिएको भन्दै चिन्ता व्यक्त गरे । यद्यपि, उत्तरी गोरखाको चुमनुब्रीदेखि तल्लो भेगसम्म आइपुग्दा युवाहरूको साथले उत्साहित बनाएको उनको भनाइ छ ।