नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातासँग मत माग्ने चुनावी घोषणापत्र बनाउँदा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणापत्र लेख्ने काम भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘अध्यक्षकै नेतृत्वमा घोषणापत्र लेख्ने काम भइरहेको छ । सायद फागुन पहिलो वा दोस्रो साताभित्र सार्वजनिक होला’, अधिकारीले रातोपाटीसँग भने, ‘यस पटक हाम्रो चुनावी घोषणापत्र सटिक र स्पष्ट हुन्छ । त्यसमा देशको राष्ट्रियता नै पहिलो प्राथमिकता हुनेछ ।’
नेकपा एमालेको गत पुस २२ गते बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा ६ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सदस्य रहेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सार्दै सुशासन, विकास, समृद्धि र समानतामा जोड दिएको थियो । ‘पाँच वर्ष: एमालेले गर्छ’ भन्ने नारालाई शीर्षस्थानमा राखेको थियो ।