राष्ट्रिय सभाका सासंद बामदेव गौतमले ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएका यात्रुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
सासंद गौतमले ट्रेल पदयात्रामा निस्किएका महिला यात्रीहरु धेरैका लागि प्रेरणा रहेको बताउँदै उनीहरुको सुरक्षाका लागि गस्तीको व्यस्वस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरुको खर्च समेत सरकारले व्यहोर्न सके त्यसले सकारात्मक सन्देश दिने गौतमको भनाई छ ।
केही दिनअघि सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएको छ । टोलीमा १९ देखि ४३ वर्षका महिला छन् ।
काठमाडौँबाट ताप्लेजुङ पुगेर यात्रा सुरु गरेको यात्रा १७ जिल्ला जोड्ने पदमार्ग पार गर्दै एक सय दिनमा दार्चुला पुगेर यात्रा टुंग्याउने उनीहरुको योजना छ ।
आन्तरिक पर्यटनमा टेवा पुर्याउने तथा राष्ट्रव्यापी भ्रमणको अनुभव बटुल्ने उद्देश्यका साथ पदयात्रा सुरु गरेको टोलीले बताएको छ ।