चुनावको मुखमा ज्ञानेन्द्रको स्वागतका नाममा किन तात्दैछन् राजावादी ?

आप्रवासन आप्रवासन

प्रतिनिधि सभा निर्वाचन आउन तीन सातामात्र बाँकी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा राजावादीहरूले एकाएक सक्रियता बढाएका छन् । हाल झापामा रहेका पूर्वराजा शाह शुक्रबार काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'भव्य' स्वागतको तयारी गरेका हुन् ।

राजावादीको यो तयारीले राजनीतिक वृत्तमा चासो बढ्नुका साथै सम्भावित मुठभेडको स्थितिले सुरक्षा चुनौती बढाएको छ ।

राजावादीले आफ्नो शक्ति देखाउने गरी पूर्वराजाको स्वागत गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई प्रदर्शन गर्न रोक लगाउने आदेश जारी गरिसकेको छ ।

सूचना हेर्दा विमानस्थल आसपासको क्षेत्रमा राजावादीलाई जान नदिने रणनीतिमा प्रशासन रहेको देखिन्छ । तर बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निषेधित क्षेत्र घोषणा गरिए पनि पूर्वराजाको भव्य स्वागत भइछाड्ने दाबी गरे । उनले सरकारले निषेधित क्षेत्र घोषणा गरेर आफूहरूलाई बिथोल्ने प्रयास गरेको आरोपसमेत लगाए । निषेधित क्षेत्र घोषणामार्फत आफूहरूलाई सरकारले रोक्न नसक्ने उनको जिकिर थियो ।

‘जहाँ पायो त्यही निषेधित हुन्छ ? त्यसमा पनि राजा आउने कुरामा ? राजालाई रोक्न खोजेको ?’, प्रसाईंले भने, ‘तिमीहरू (गृहमन्त्री र प्रधानमन्त्री)सँग दम छ भने राजालाई हतकडी लगाएर देखाऊ न !’ उनले चेतावनी दिँदै अगाडि भने, ‘यसले गर्दा कुनै तलमाथि भयो भने हामी भोलि नै नारायणहिटीमा राजा भित्र्याउँछौँ ।’

प्रसाईंले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने भएकाले सरकारलाई धरपकड नगर्न चेतावनीसमेत दिए । उनले जेनजी आन्दोलनको जगमा नभई विदेशीको जगमा चुनाव हुन लागेको आरोपसमेत लगाए ।

प्रदर्शनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, दुर्गा प्रसाईं नेतृत्वको महाभियान, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिसहितका राजावादी संघसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।

बिहीबार नै सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन बहाली नवयुवा पुस्ताको चाहना र मागमात्र नभएर विद्यमान सङ्कट समाधानका महत्त्वपूर्ण आधार भएको जिकिर गरेको छ ।

देशले खोजेको समाधान र राष्ट्र, राष्ट्रियतासँग जोडिएका गम्भीर सवालहरू सतही हस्तक्षेपबाट मात्र प्राप्त हुन नसक्ने समितिको जिकिर छ । ‘निषेधको निरन्तरताले राज्यको केन्द्रमा कायम रिक्तता पूर्ति गर्न सक्दैन । यसर्थ पृथ्वीपथ राष्ट्रको जग भन्ने यथार्थता आत्मसात् गर्दै सर्वपक्षीय सम्वाद र सहमतिका आधारमा दीर्घ समाधान खोज्नुभन्दा बाहेक अरु विकल्प हामीसँग छैन’, विज्ञप्तिमा भनिएको छ । राजसंस्थाविना देश र जनताले खोजेको स्थायी निदान प्राप्त नसक्ने समितिको जिकिर छ ।

उम्मेदवार नै आह्वान गर्दै

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन तय भई आचारसंहिता समेत लागु भएको अवस्थामा राजावादीले शक्ति प्रदर्शन गरेर राजसंस्थाको पक्षमा माहोल सिर्जना गर्न खोजेको देखिन्छ । यतिमात्रै होइन, पूर्वराजालाई स्वागत गर्न राप्रपाबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेकाहरू नै सक्रिय रूपले लागेको पाइएको छ । गत आइतबार राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले पूर्वराजा शाह झापाबाट काठमाडौँ फर्किंदा विमानस्थलमा भव्य स्वागत गर्न सार्वजनिक आह्वान गरेका थिए । उनले फेसबुकमार्फत गरेको सार्वजनिक आह्वानमा देश नवीन समझदारीतिर अग्रसर हुने सङ्केत मिल्न थालेको समेत जिकिर गरेका छन् ।

‘देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन् । यो एकदम सकारात्मक सङ्केत हो’, मिश्रको भनाइ छ, ‘राजसंस्थावादी आम सर्वसाधारण त उपस्थित हुने नै छन् । तर फागुन १ गते उपत्यका वरिपरि र अझ सकिन्छ भने देशभरिका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एक दिनका लागि काठमाडौँ उपस्थित भइदिए स्वागत ऐतिहासिक हुने थियो । बल्ल देश नवीन समझदारीतिर अग्रसर हुने सङ्केत मिल्न थालेको छ ।’

उसो त राप्रपाले बुधबार पूर्वराजालाई स्वागत गर्ने प्रसाईंसँग छलफल गरेको थियो । सो छलफलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रोशन कार्कीसहित नेताहरू निरञ्जन थापा, मोहन श्रेष्ठ लगायत सहभागी थिए । सो अवसरमा पूर्वराजाको स्वागत कार्यक्रमलाई सफल बनाउन मिलेर अघि बढ्नेबारे छलफल भएको बताइएको छ ।

राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली पूर्वराजाको स्वागतमा सक्रियतापूर्वक पार्टीको सहभागिता रहने बताउँछिन् । यद्यपि आफू भने मध्यपहाडी लोकमार्ग केन्द्रित चुनावी प्रचारमा रहने भएकाले सहभागी नहुने उनको भनाइ छ ।

  • ज्ञानेन्द्र देखाएर मत तान्ने प्रयास ?

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पूर्वराजा झापाबाट काठमाडौँ फिर्ता हुने क्रममा विमानस्थलमा स्वागत गर्न राप्रपाले संस्थागत रूपमै कार्यकर्ता र शुभेच्छुकहरूलाई परिचालन गर्न लागेको बताए । यो स्वागत कार्यक्रम राप्रपाको मात्र नभई विभिन्न राजसंस्थावादी, स्वतन्त्र समूह र अभियानहरूको साझा पहलमा हुन लागेको उनको भनाइ छ ।

श्रेष्ठले देशको वर्तमान सङ्कटपूर्ण अवस्थामा राजसंस्थालाई एक अभिभावकीय संस्थाको रूपमा अगाडि सार्नुपर्ने बेला आएको जिकिर गरे । उनले भने, ‘अहिलेको संकटपूर्ण अवस्थामा एउटा अभिभावकीय संस्थाका रूपमा राजसंस्था हुनुपर्छ भन्ने बेला परिपक्व भएको छ, त्यसैले हामीले स्वागतको तयारी गरेका हौँ ।’

आसन्न निर्वाचन र मत तान्ने रणनीतिका रूपमा यसलाई हेरिन नहुने श्रेष्ठको तर्क छ । यो कार्यक्रम कुनै चुनावी फाइदा वा फन्डाका लागि नगरिएको उनको जिकिर छ । ‘यो चुनावसँग सम्बन्धित छैन, यो त राष्ट्रिय आवश्यकता हो’, उनले भने, ‘यसमा कांग्रेस, एमाले र माओवादीमा रहेका देशभक्त र राष्ट्रवादी नागरिकहरूलाई पनि सहभागी हुन हामीले आह्वान गरेका छौँ ।’

गत माघ दोस्रो साता पूर्वराजा जनकपुर पुगेका थिए । त्यसलगत्तै पूर्वराजा झापाको दमकमा बस्दै आएका थिए । दमकको बसाइ सकेर उनी शुक्रबार काठमाडौँ फर्किने भएसँगै राजावादीहरूले सोही मौकामा उनको स्वागत गर्न लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले सबैलाई मिलाउन सक्ने संस्था नै राजसंस्था भएको जिकिर गरे । उनले अहिलेको विषम परिस्थितिमा राजसंस्थाको सान्दर्भिकता झनै बढ्दै गएको भन्दै यसमा सबै पक्ष गम्भीर हुनुपर्ने तर्क गरे ।

गत वर्षको फागुन २५ मा पनि पूर्वराजा शाह पोखराबाट फर्किंदा राजावादीहरूले भव्य स्वागत गरेका थिए । त्यतिबेला हजारौँ राजावादी विमानस्थलमा स्वागतका लागि पुगेपछि हौसिएका पूर्वराजाले राजावादीलाई आन्दोलन गर्न उक्साएको आरोपसमेत लागेको थियो । सोही स्वागतपछि सोही वर्षको चैतमा तीन कुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वको संगठनको आयोजनामा हिंसात्मक प्रदर्शन भएको थियो ।

अहिले फेरि चुनावको मुखमा प्रदर्शन हुन लागेपछि निर्वाचन आयोगले समेत चासो देखाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजावादीको प्रदर्शनबारे आयोग चनाखो रहेको बताए । उनले प्रदर्शन गर्न पाउने राजनीतिक दल वा संगठनको अधिकारको कुरा भए पनि आचारसंहिताको विषय भने आयोगले हेर्ने प्रस्ट पारे । 
उनले आचारसंहिता उल्लङ्घन भए आयोगले ‘एक्सन’ लिने भन्दै यदि कुनै उम्मेदवार त्यहाँ देखिएको अवस्थामा उम्मेदवारी खारेज हुनेसम्मको अवस्था आउन सक्ने चेतावनी दिए ।