नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले धानेको चर्चा भइरहँदा यसको सामाजिक र पारिवारिक मूल्य भने निकै महँगो देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणले यस्तो देखाएको हो ।
उक्त तथ्याङ्क अनुसार नेपालका १७ वर्ष मुनिका करिब एक–तिहाइ (३३.२ प्रतिशत) बालबालिकाका बुबा वा आमामध्ये कोही एक वा दुवै वैदेशिक रोजगारीका लागि विदेशमा रहेको देखिएको छ । यो तथ्याङ्कले नेपाली बालबालिकाको ठूलो हिस्सा अभिभावकीय सामीप्य र संरक्षणबाट टाढा रहेको देखाएको छ । जसले उनीहरूको मानसिक र सामाजिक विकासमा दीर्घकालीन प्रभाव पार्ने जोखिम बढाएको सर्वेक्षणले देखाएको छ ।
डिजिटल माध्यमः बिछोडिएका परिवार जोड्ने सहारा
अभिभावक विदेशमा हुनुको प्रत्यक्ष प्रभाव सञ्चार प्रविधिको प्रयोगमा देखिएको छ। सर्वेक्षण अनुसार नेपालका ८२ प्रतिशत घरधुरीमा इन्टरनेट सुविधासहितका डिजिटल उपकरण पुगेका छन् । १५–४९ वर्षका ९०.४ प्रतिशत पुरुष र ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन छ ।
विदेशमा रहेका अभिभावकसँग कुराकानी गर्नुपर्ने बाध्यता र रेमिट्यान्सको सहजताले गर्दा नेपालमा स्मार्ट फोन र इन्टरनेटको पहुँच तीव्र रूपमा विस्तार भएको विश्लेषण गरिएको छ । काठमाडौँ उपत्यकाका ९२.४ प्रतिशत नागरिकले स्मार्ट फोन प्रयोग गर्नु र देशैभरिको डिजिटल पहुँच बढ्नुमा वैदेशिक रोजगारीको ठूलो भूमिका छ ।
सुधारिएको जीवनस्तर तर गुणस्तरमा प्रश्न
वैदेशिक रोजगारीले घरपरिवारको क्रयशक्ति बढाउँदा पूर्वाधारमा सुधार आएको छ। ९६.७ प्रतिशत घरमा विद्युत् पुग्नु र ९२.४ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गर्नुलाई यसको सकारात्मक पाटो मान्न सकिन्छ । तर आर्थिक स्तर बढे पनि स्वास्थ्य र गुणस्तरमा भने गम्भीर संकट देखिएको छ ।
९८ प्रतिशतले सुधारिएको पानीको स्रोत प्रयोग गरे पनि परीक्षणका क्रममा ६०.४ प्रतिशतको पानीमा दिसामा पाइने हानिकारक इ-कोलाई जीवाणु भेटिएको छ।
अभिभावक विशेषगरी आमाको अनुपस्थितिले बाल पोषण र स्वास्थ्यमा पनि असर पारेको हुनसक्ने सर्वेक्षणका सूचकहरूले संकेत गरेका छन्। सर्वेक्षणकाअनुसार नेपालमा अझै पनि ३१.५ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएका छन् ।
त्यस्तै, ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार मा ३१ जनालाई जना छ। मधेस प्रदेशमा पुड्कोपन ३३.२ प्रतिशत र सुदूरपश्चिममा बाल मृत्युदर ४८ सम्म पुग्नुले वैदेशिक रोजगारीको आम्दानी स्वास्थ्य र पोषणमा सही ढंगले सदुपयोग हुन नसकेको सर्वेक्षणले देखाउँछ ।
सर्वेक्षणले वैदेशिक रोजगारीलाई नेपालको अनिवार्य बाध्यताका रूपमा चित्रण गरेको छ । एकातिर यसले घरमा टेलिभिजन, मोबाइल, इन्टरनेट र बिजुली जस्ता आधुनिक सुविधा पुर्याएको छ भने अर्कोतिर एक–तिहाइ बालबालिकालाई अभिभावकको काखबाट वञ्चित गराएको छ ।
पैसाले सुविधा किने पनि बालबालिकाको स्वास्थ्य, शुद्ध खानेपानी र पारिवारिक सामीप्य जस्ता आधारभूत आवश्यकतामा भने ठूलो खाडल देखिएको छ ।