प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लुम्बिनी प्रदेश समितिले जनयुद्ध दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेको छ।
पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मा र अध्यक्ष यज्ञ प्रसाद पोखरेलद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जनयुद्धका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, बेपत्ता योद्धाहरू, घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमध्ये जनयुद्धको योगदान सबैभन्दा उच्च रहेको उल्लेख छ। 'आजका सबै राजनीतिक उपलब्धि र सामाजिक चेतनाको मुख्य आधार जनयुद्ध हो,' विज्ञप्तिमा भनिएको छ, 'हामी यी राजनीतिक उपलब्धिलाई आत्मसात गर्दै नेपाली जनताको अवस्था बदल्ने काम बाँकी छ।'
पार्टीले अब नयाँ शिराबाट सबै प्रगतिशील लोकतान्त्रिक शक्तिहरूको बृहत् एकतामार्फत एउटा बलियो विचारसहितको विकल्प निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। सोही शक्तिको बलमा जनताको अवस्था बदल्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।
देश निर्वाचनमा होमिएको सन्दर्भ उल्लेख गर्दै विज्ञप्तिमा यो निर्वाचनलाई जनयुद्धका बाँकी राजनीतिक अधिकार प्राप्त गर्दै अवस्था बदल्ने मार्गमा लैजान सबैले पहल गर्नुपर्ने आह्वान समेत गरिएको छ।