हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बालेन्द्र ९बालेन० शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतासँग मत मागेको थियो । उक्त निर्णयमा रास्वपा कायम रहने हो भने अब केही दिनमै बालेन शाहले प्रधानमन्त्रीका रूपमा देशको प्रमुख कार्यकारी भूमिका सम्हाल्ने छन् ।
यद्यपि, सरकार गठन हुनासाथ बालेन शाहका लागि पश्चिम एसियाको द्वन्द्व मुख्य चुनौती हुने देखिएको छ । पश्चिम एसिया क्षेत्रमा १९ लाखभन्दा बढी नेपाली छन् । उनीहरूको सुरक्षाको चिन्ता बढ्न थालेको छ । पश्चिम एसियाली मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित रूपमा ल्याउने, वैदेशिक रोजगारी गुमाएर फर्किएका नेपालीलाई नेपाली श्रम बजारमा कहाँ र कसरी प्रयोग गर्ने लगायतका विषय नयाँ सरकारका लागि अग्निपरीक्षा झैँ हुने देखिन्छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, ‘नेपालीहरू के–कस्तो अवस्थामा छन् भन्नेबारे सोधखोज गर्ने र आवश्यक जानकारी जुटाउनमा लागेका छौँ । हालसम्मको विवरण अनुसार दुबईमा एक जना नेपालीको मृत्यु हुनुबाहेक अन्य नेपालीलाई कुनै प्रकारको क्षति भएको छैन । कुनै नेपालीलाई धेरै नै अप्ठ्यारो छ र ऊ नेपाल फर्किन चाहन्छ भने सम्बन्धित देशका दूतावासमा सम्पर्क गर्ने, त्यसका लागि मन्त्रालयले विभिन्न नम्बर जारी गरेको छ ।’
ड्रोन आक्रमणका कारण घाइते भएका केही नेपालीको उपचार भएर सामान्य अवस्थामा आइसकेको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्क्यु टिम’ गठन गरेको छ । हाल उक्त टिमले विभिन्न काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि त्यहाँ कार्यरत नेपाली अत्तालिएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । रातोपाटीसँग आज बिहान सम्पर्क गर्दै एक श्रमिकले त्यहाँको अवस्था भिडियोमार्फत देखाएका थिए । आफूहरू मरिन्छ कि बाँचिन्छ भन्ने ठेगान नभएको उनको भनाइ थियो । सबैतिर आगो लागेको र लुक्ने ठाउँ पनि नरहेको उनले बताएका थिए ।
‘कम्पनीले पासपोर्ट लिइसकेको छ । फर्किने उपाय खोजिरहेका छौँ, तर न दूतावासले कुनै सुनुवाइ गरिरहेको छ, न अरु कुनै निकायले पहल गरिरहेको छ,’ उनले रातोपाटीसँग भने ।
त्यहाँ लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ । त्यसले विश्व ऊर्जामा ठुलो असर पु¥याउने बताइएको छ ।
उता, साउदी अरेबिया र दुबईमाथि पनि इरानको ड्रोन आक्रमण लगातार भइरहेको छ । त्यसले त्यहाँ कार्यरत नेपालीहरू त्रसित छन् । दुबईमा ड्रोन आक्रमणले त्यहाँको ग्यास प्लान्टमा असर गरेको छ । त्यहाँ पनि थुप्रै नेपाली प्रभावित भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा रहेका नेपालीहरूको बारेमा जानकारी लिइरहेको जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार त्यहाँ रहेका नेपालीहरू सुरक्षित अवस्थामा छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसिया क्षेत्रमा चर्किएको द्वन्द्वतिर नै आफूहरूको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए । त्यहाँ रहेका नेपालीहरूलाई कसरी सुरक्षित राख्ने र उनीहरूलाई कसरी फिर्ता बोलाउने भन्नेमा छलफल भइरहेको उनको भनाइ छ ।
कन्सुलर सेवा विभागका महानिर्देशक दुरपादा सापकोटाले खाडी मुलुकमा रहेका नेपाली सुरक्षित रहेको र नेपाल आउन चाहने नेपालीलाई ल्याउने क्रम सुरु भएको बताइन् । ‘केही जहाज आउने–जाने भइरहेको छ,’ उनले भनिन्, ‘प्रक्रिया पुर्याएर आउन चाहेका कुनै नेपाली नागरिक आइरहेकै छन् ।’
द्वन्द बढ्दै गइरहेकाले नेपालीलाई सुरक्षित रहन परराष्ट्र मन्त्रालयले आफ्ना मातहतका निकायमार्फत आग्रह गर्दै आइरहेको उनको भनाइ छ ।