नेपाल दक्षिण एसियामै सबैभन्दा खुसी देशको रूपमा स्थापित भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार नेपालले क्षेत्रीय रूपमा शीर्ष स्थान हासिल गरेको हो।
रिपोर्टअनुसार विश्व वरियतामा नेपाल ९२औँ स्थानमा रहेको छ, जुन दक्षिण एसियाका अन्य देशहरूको तुलनामा उच्च हो। पाकिस्तान १०९औँ स्थानमा, भारत ११८औँ स्थानमा र श्रीलंका १३३औँ स्थानमा रहेका छन्। यसैगरी बंगलादेश १३४औँ स्थानमा परेको छ।
अन्य देशहरूमा चीन ६८औँ र अमेरिका २४औँ स्थानमा रहेका छन्, जसले विश्वस्तरमा खुशीको स्तर फरक–फरक रहेको देखाउँछ।
विश्वकै सबैभन्दा खुसी देशको रूपमा फिनल्याण्ड पुनः पहिलो स्थानमा कायम रहेको छ। त्यसपछि क्रमशः डेनमार्क, आइसल्यान्ड, स्वीडेन र नेदरल्याण्ड्स शीर्ष पाँचमा रहेका छन्। कोस्टारिका, नर्वे, इजरायल, लक्जेम्बर्ग र मेक्सिको पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।
रिपोर्टमा व्यक्तिको जीवन सन्तुष्टि, सकारात्मक सोच, सामाजिक समर्थन, आर्थिक अवस्था र भावनात्मक सन्तुलनजस्ता सूचकका आधारमा देशहरूको खुशीको स्तर मापन गरिएको उल्लेख गरिएको छ।
विश्वका उत्कृष्ट १० खुसी देश
१. फिनल्याण्ड
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्वीडेन
५. नेदरल्याण्डस्
६. कोस्टारिका
७. नोर्वे
८. इजरायल
९.लग्जम्बर्ग
१०. मेक्सिको