परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षीबिच भेटवार्ता

आप्रवासन आप्रवासन

९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ।

शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन्।

वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ। भेटपछि दुवै मन्त्रीले दुई राष्ट्रबिचको द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

हिन्द महासागर क्षेत्रको सुरक्षा, व्यापार र सहकार्यबारे छलफल गर्न अप्रिल १० देखि १२ सम्म मोरिससमा आयोजना भइरहेको यस सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले नेतृत्व गरिरहेका छन्।