परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो प्राप्त भएको खुलासा

आप्रवासन आप्रवासन

नवौँ हिन्द महासागर सम्मेलनका लागि मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको भ्रमणको खुलासा गरेका छन् ।

भारतीय समकक्षी एस।जयशंकरसँगको भेटघाटपछि परराष्ट्रमन्त्री खनालले सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई शुभकामना सन्देशसहित भारत भ्रमणको निम्तो दिएका छन् ।

त्यो निम्तालाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका छन् । यद्यपि त्यो प्रारम्भिक चरण भएको र त्यसलाई पूर्णता दिन थप छलफल आवश्यक पर्ने धारणा मन्त्री खनालले व्यक्त गरे ।

भारतीय विदेशमन्त्री जयशंकरसँगको कुराकानीमा दुई देशबिचको उच्चस्तरीय भ्रमणअघि सचिवस्तरीय भ्रमण हुने कुरा भएको बताइएको छ । निकट भविष्यमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्ने र त्यो भ्रमणको क्रममा अन्य कुराको टुङ्गो लाग्ने कुराकानी भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमलाई मन्त्री खनालले भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ, तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन् ।’

तर परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यो विषयमा मन्त्रालय बेखबर रहेको बताए । मन्त्रालयका एक अधिकारीले भने, ‘परराष्ट्रमन्त्री भारतमा गएर बोल्नु भएको कुराबाट नै हामीले पनि यो कुरा थाहा पाएका हौँ । हाम्रो मन्त्रालयमा प्रधानमन्त्री बालेनको भ्रमणको बारेमा कुनै चर्चा छैन । मन्त्रीज्यू फर्केपछि केही कुराकानी होला कि १’

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग परराष्ट्रमन्त्री खनालसँगको भेटमा पनि प्रधानमन्त्री बालेन भ्रमणको चर्चा नभएको ती अधिकारीले बताए । ‘उच्च तहमै त्यसको केही कुराकानी भएको होला । त्यो छुट्टै हो, तर कर्मचारी तहमा त्यस बारेमा कुनै चर्चा भएको छैन,’ उनले भने ।

परराष्ट्रमन्त्री खनालले मोरिससबाट भोलि स्वदेश फर्किंदैछन् ।

यसअघि प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो विदेश भ्रमण कहाँ हुने भन्नेबारे चर्चा हुने गर्दथ्यो । खासगरी प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुने हो कि होइन भन्नेमा चासो बढ्ने गर्दथ्यो । भारत र चीनले आ–आफ्नो देशको भ्रमण गराउन प्रतिस्पर्धा नै गर्थे । प्रायः प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाट हुन्थ्यो । तर पछिल्लो समय निरन्तरताको क्रमभङ्ग भएको थियो । नेपालका केही प्रधानमन्त्रीले अन्य देशबाट पनि आफ्नो पहिलो विदेश भ्रमणको सुरुवात गरेको पाइन्छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लामो समय भारतले भ्रमणको निमन्त्रणा नै दिएन । त्यसपछि उनले चीन भ्रमण गरेका थिए । धेरैपछि भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थियो । भ्रमणको तयारी चलिरहेको समयमा जेनजी आन्दोलन भयो र ओली नेतृत्वको सरकार ढल्यो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भारत भ्रमणको निम्तो थियो । तर छोटो समयका लागि बनेको चुनावीका सरकारको नेतृत्व गर्नु परेका कारण कुनै देशको भ्रमण नगर्ने भनेर प्रधानमन्त्री कार्की भारतमात्र होइन, कुनै पनि देश गइनन् ।

प्रधानमन्त्री बालेनलाई सबैभन्दा पहिलो निम्तो भारतबाट आएको हो, तर अरु प्रधानमन्त्री जस्तो निम्तो आउने बित्तिकै भ्रमणमा गइहाल्ने खालको प्रधानमन्त्री बालेन नभएको परराष्ट्र विज्ञहरू बताउँछन् ।