शनिबार राति वासिङ्टन डीसीस्थित एक होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चल्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् सहभागी भएको कार्यक्रममा भएको गोली काण्डले ट्रम्पको सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ ।
उक्त घटनामा सेक्रेट सर्भिसका एक जना एजेन्ट घाइते भएका छन् । यस वार्षिक कार्यक्रममा राष्ट्रपति ट्रम्पसहित उच्च तहका सरकारी अधिकारीहरू उपस्थित भएका थिए, जसमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथलगायत अन्य क्याबिनेट सदस्यहरू पनि सहभागी थिए ।
यो घटना हुनुको पछाडि कानुन प्रवर्तन निकायको कुनै असफलता वा गलत सञ्चार थियो कि थिएन भनेर निश्चित रूपमा भन्न धेरै हतार हुनेछ । सन् २०२४ मा राष्ट्रपति निर्वाचनको चुनावी अभियानको क्रममा दुई पटक ट्रम्पको हत्या प्रयास भएको थियो ।
यसको दुई वर्षभन्दा कम समयमा भएको यस घटनाले देशको सबैभन्दा व्यापक व्यक्तिगत सुरक्षा उपकरणमा पनि कमजोरी रहेको सङ्केत गर्छ । घटना वासिङ्टन हिल्टन होटलमा भएको थियो, जहाँ करिब २ हजार ६०० जना सहभागी थिए ।
प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारी होटलमै बसिरहेका थिए र उसका साथमा सटगण, ह्यान्डगन र चक्कुजस्ता हतियार थिए । भिडियो फुटेजमा बन्दुकधारीलाई सुरक्षा चेक प्वइन्ट पार गर्दै हलवेमा आक्रमण गरिरहेको देख्न सकिन्छ ।
त्यसपछि उसले एक एजेन्टलाई गोली हानेको अनि अधिकारीहरूले उसलाई नियन्त्रणमा लिएर हत्कडी लगाएको देखिन्छ । बलरूम भित्र सहभागीहरूले अचानक गोली चलेको आवाज सुने ।
गोली चलेपछि सुरक्षाकर्मीहरूले ट्रम्प र अन्य उच्च अधिकारीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ लगेका थिए । केही सुरक्षा टोलीहरूले आफ्ना नेताहरूलाई ढाल बनाएर जोगाएका थिए भने केहीलाई बाहिर निकाल्न समय लागेको थियो ।
घटनापछि ट्रम्पले आकस्मिक पत्रकार सम्मेलनमा उद्धारकर्ताहरूको प्रशंसा गर्दै आक्रमणकारी कार्यक्रम स्थलको मुख्य हलसम्म पुग्न नसकेको बताएका थिए । उनले उक्त भवनलाई ‘धेरै सुरक्षित नभएको’ टिप्पणी पनि गरे ।
सोही होटलमा सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि गरिएको हत्या प्रयास भएको थियो । पछिल्लो घटनाले सुरक्षाको ऐतिहासिक संवेदनशीलता झन् बढाएको छ ।
सन् २०२४ को चुनावी अभियानका क्रममा पनि ट्रम्पमाथि भएका दुई पटक हत्या प्रयास भएको थियो । यी घटनाहरूले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबिच उच्चस्तरीय सुरक्षामा अझै कमजोरी रहेको सङ्केत गरेको छ ।