अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासबारे महत्त्वपूर्ण फैसला गर्न तयारी गरिरहँदा एक नयाँ सर्वेक्षणले अमेरिकी जनमत यसको विपक्षमा रहेको देखाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र बजार अनुसन्धान संस्था इप्सोसले गरेको सर्वेक्षणअनुसार ६४ प्रतिशत अमेरिकी नागरिकहरूले अमेरिकामा जन्मिने सबै बालबालिकालाई स्वतः नागरिकता दिनुपर्ने पक्षमा मत दिएका छन् । ३२ प्रतिशतले मात्र यस नीतिको अन्त्यलाई समर्थन गरेका छन् ।
यो मुद्दा ट्रम्पले २०२५ को सुरुवातमा जारी गरेको कार्यकारी आदेशसँग सम्बन्धित छ, जसलाई विभिन्न अदालतहरूमा चुनौती दिइएको छ । अब यो मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ । अदालतले निकट भविष्यमा निर्णय दिने अपेक्षा गरिएको छ।
सर्वेक्षणले राजनीतिक विभाजन पनि स्पष्ट देखाएको छ । डेमोक्रेट पाटीलाई भोट दिएका करिब ९ प्रतिशत मात्र नागरिकता हटाउने पक्षमा छन् । रिपब्लिकन मतदातामध्ये करिब ६२ प्रतिशतले यसको समर्थन गरेका छन्।
अदालतले अन्य संवेदनशील मुद्दाहरूमा पनि फैसला गर्ने तयारी गरिरहेको छ, जसमा ट्रान्सजेन्डर खेलाडीहरू, मेल–इन भोट गणना, र निर्वाचन जिल्ला विभाजनसम्बन्धी विवादहरू समावेश छन् ।
करिब ६७ प्रतिशत अमेरिकीहरूले महिला खेलकुदमा ट्रान्सजेन्डर खेलाडीलाई प्रतिबन्ध लगाउने कुरामा समर्थन गरेका छन् । मेल–इन भोटको विषयमा भने ६५ प्रतिशतले मतदानको दिन पोस्टमार्क भएका तर ढिला पुगेका मतपत्र गणना गर्नुपर्ने पक्षमा मत दिएका छन्।
लुइसियाना राज्यको निर्वाचन क्षेत्र पुनः नक्सांकन सम्बन्धी मुद्दामा पनि जातीय प्रतिनिधित्वबारे अमेरिकी मत विभाजित देखिएको छ । यो सर्वेक्षण अप्रिल १५ देखि २० को बिचमा देशभरमा गरिएको थियो।