वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सवारी चालक अनुमतिपत्र (ड्राइभर लाइसेन्स) नवीकरण प्रक्रिया थप सहज बनाइएको छ। यातायात व्यवस्था विभागले अनलाइन प्रणालीमार्फत विदेशबाटै नवीकरण प्रक्रिया सुरु गर्न सकिने व्यवस्था गरेपछि सेवाग्राहीलाई उल्लेख्य राहत मिल्ने भएको हो।
विभागको आधिकारिक पोर्टल applydl.dotm.gov.np मार्फत मोबाइल नम्बर प्रयोग गरी प्रोफाइल बनाउन सकिन्छ। त्यसपछि पुरानो लाइसेन्सलाई ‘License Sync’ मार्फत लिंक गरेर ‘Renewal’ विकल्प छान्दै आवश्यक विवरण भर्नुपर्नेछ। नवीकरणका लागि लाग्ने राजस्व ConnectIPS, eSewa वा Khalti जस्ता डिजिटल माध्यमबाट विदेशबाटै वा नेपालमा रहेका आफन्तमार्फत पनि तिर्न सकिने व्यवस्था गरिएको छ।
यद्यपि, बायोमेट्रिक प्रक्रिया भने नेपालमै उपस्थित भएर मात्र पूरा गर्नुपर्नेछ। सेवाग्राही नेपाल फर्किएपछि राजस्व तिरेको रसिदसहित सम्बन्धित यातायात कार्यालयमा उपस्थित भई फोटो र औंठाछाप दिनुपर्नेछ। आवश्यक परेमा मन्जुरीनामा (Authorization) मार्फत आफन्तलाई प्रक्रिया अगाडि बढाउन सकिनेछ।
यसका लागि नागरिकता, पुरानो लाइसेन्स, पासपोर्ट साइज फोटो र मेडिकल रिपोर्टसहितका कागजात आवश्यक पर्ने विभागले जनाएको छ। नयाँ व्यवस्थाले विदेशमा रहेका नेपालीलाई समय, खर्च र झन्झट दुवैबाट राहत दिने अपेक्षा गरिएको छ।