वैदेशिक रोजगार संघको विवाद उग्र: अध्यक्ष गुरुङ कानुनी प्रक्रियामा, तालाबन्दीविरुद्ध उजुरी, व्यवसायी चिन्तित

आप्रवासन आप्रवासन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्र उत्पन्न पछिल्लो विवादले संस्थागत संकट गहिरिएको छ। कार्यसमितिका प्रथम उपाध्यक्ष, महासचिवसहित केही पदाधिकारी र सदस्यहरूको सामूहिक राजीनामापछि स्थिति तनावपूर्ण बनेको हो।

अध्यक्ष भुवन सिंह गुरुङ ले विवादका बीच संयमता अपनाउँदै व्यवसायीको हकहितमा केन्द्रित भएर अघि बढ्ने बताएका छन्। उनले केही समूहले राजीनामालाई अवसरका रूपमा प्रयोग गर्दै संस्थालाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्।

राजीनामापछि असन्तुष्ट पक्षले संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि अध्यक्ष गुरुङले कानुनी बाटो रोज्दै प्रहरी वृत्त गौशाला मा निवेदन दर्ता गराएका छन्। उनले तालाबन्दी गैरकानुनी भएको भन्दै तत्काल ताला खोल्न र नियमित कामकाज सञ्चालन गर्न प्रशासनसँग माग गरेका छन्।

गुरुङका अनुसार तालाबन्दीमा संलग्न व्यक्तिहरूको तस्वीर र भिडियो प्रमाण आफूसँग सुरक्षित छ र केही समूहको उक्साहटमा योजनाबद्ध रूपमा संस्थालाई कमजोर बनाउने प्रयास भइरहेको छ। उनले १५ गते बिहान प्रहरी परिचालन गरी कार्यालय खुलाउने र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।

यस घटनामा संलग्न भएको आरोपमा दीपक ढुगाना, मिलन कट्टेल, विनोदजंग केसी, किशोरकुमार केसी, मानव बिष्ट र राजेन्द्र अधिकारीलगायतको नाम सार्वजनिक गरिएको छ।

उता, संघका केही पूर्वअध्यक्ष तथा मेनपावर क्षेत्रका अग्रज व्यवसायीहरूले अध्यक्ष गुरुङको कदमको समर्थन गर्दै संस्थाको हितविपरीत गतिविधि गैरजिम्मेवार भएको बताएका छन्। देशभर रहेका एक हजारभन्दा बढी मेनपावर व्यवसायीहरूको छाता संगठनमै तालाबन्दी भएपछि व्यवसायीहरूमा असन्तुष्टि बढ्दो छ।

मंगलबार बोलाइएको कार्यसमिति बैठकमार्फत विवाद समाधान हुने अपेक्षा गरिएको भए पनि त्यसअघि नै तालाबन्दी गरिनु दुःखद भएको व्यवसायीहरूको भनाइ छ। केहीले यस विवादमा मलेसिया रोजगार र मेडिकल सिन्डिकेटको विषय समेत जोडिएको दाबी गरेका छन्।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र सुरक्षा निकायहरूले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन्। आवश्यक परे थप निगरानी र कडाइ गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

समग्रमा, अध्यक्ष गुरुङले कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्दै संस्थालाई स्थिर बनाउने प्रयास गरिरहेका छन्। तर विपक्षी समूह आक्रामक रूपमा उत्रिएपछि संघको आगामी दिशा नेतृत्वको कदमले तय गर्ने देखिएको छ।