अमेरिकाले इरानसँगको जारी युद्धमा हालसम्म करिब २५ अर्ब डलर खर्च गरिसकेको रक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।
पेन्टागनका अधिकारीका अनुसार यो नै यस द्वन्द्वको पहिलो आधिकारिक लागत अनुमान हो । वाशिङ्टन डीसीमा भएको संसदीय सुनुवाइमा पेन्टागनका कार्यवाहक कम्प्ट्रोलर जुल्स हष्र्टले सांसदहरूलाई जानकारी दिँदै यो खर्चको ठूलो हिस्सा हतियार तथा गोला–बारुदमा गएको बताए ।
तर उनले यो अनुमानमा मध्यपूर्वका सैन्य आधारहरूको मर्मत तथा पुनर्निर्माण खर्च समावेश छ वा छैन भन्ने स्पष्ट पारेनन् । लामो समयदेखि यस्तो विवरण माग्दै आएको र अन्ततः लागत सार्वजनिक भएकोमा प्रतिनिधि सभाको हतियार सेवा समितिमा रहेका शीर्ष डेमोक्रेट एडम स्मिथले प्रतिक्रिया दिएका छन् । इरानमा खर्च भएको भनिएको २५ अर्ब डलर नासाको यस वर्षको कुल बजेट बराबर भएको बताइएको छ । तर पेन्टागनले यस्तो अनुमान कसरी निकालेको हो भन्ने अझै स्पष्ट छैन । यसअघि एक स्रोतले युद्धको पहिलो ६ दिनमै कम्तीमा ११ अर्ब ३० करोड डलर खर्च भएको जानकारी दिएको थियो ।
यसैबीच अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो खर्च उचित भएको दाबी गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु यसको मुख्य उद्देश्य भएको बताए । उनले सांसदहरूलाई प्रश्न गर्दै भने, 'इरानले आणविक बम नबनाओस् भन्नका लागि तपाईं कति मूल्य तिर्न तयार हुनुहुन्छ ?' राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सुरु गरेको यो युद्धप्रति अमेरिकामा राजनीतिक बहस पनि चर्किएको छ ।
मध्यावधि चुनाव नजिकिँदै गर्दा डेमोक्रेटहरूले यो युद्धलाई महँगो र अलोकप्रिय भन्दै आलोचना गरिरहेका छन् । ट्रम्प प्रशासनले यसलाई आवश्यक कदमको रूपमा बचाउ गरिरहेको छ ।