कोरिया जाने अवसर

भाषा उत्तीर्णमध्ये ४१% लाई मात्र कोरिया जाने अवसर

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तव्य मुलुक हो, दक्षिण कोरिया । दक्षिण कोरिया जान ठुलो सङ्ख्यामा युवाहरू लालायित हुन्छन् ।

तर गएको ३ वर्षमा भाषा पास गर्ने मध्ये पनि ४१ प्रतिशतले मात्रै कोरिया जान पाएको देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि २०२४ सम्ममा कोरियन भाषा परीक्षा उत्तीर्ण भएकामध्ये २२ हजार २२ जना मात्र कोरिया गएका छन् ।

जबकि ती ३ वर्षमा ५२ हजार ६०४ जनाले भाषा परीक्षा पास गरेका थिए । बाँकी ३० हजार ५८२ जना भने अझै पनि कोरिया जाने पर्खाइमा छन् ।

शाखाको अनुसार सन् २०२४ मा १५ हजार ४७८ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । जसमध्ये एक हजार ६२६ जना मात्र कोरिया जान पाएका छन् ।

सन् २०२३ मा १८ हजार २८२ जनाले भाषा परीक्षा पास गरेका थिए । तर सो वर्ष पनि ५ हजार १६ जना मात्रै कोरिया जान पाए ।

सन् २०२२ मा १८ हजार ८४४ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । जसमध्ये १५ हजार ३८० जना कोरिया गएका थिए ।

कोरियाले कुन वर्ष कति कामदार लाग्छ भन्ने यकिन हुँदैन । जसले गर्दा कोरिया जाने सपना बोकेर भाषा पास गरी बसेका हजारौँ युवाहरू कोरिया जानबाट वञ्चित हुनु परेको हो ।