इरान युद्धको प्रभाव: बन्द भयो अमेरिकाको स्पिरिट एयरलाइन्स

आप्रवासन आप्रवासन

अमेरिकाको बजेट एयरलाइन्स स्पिरिट एयरलाइन्स बन्द भएको छ । कम्पनीले आफ्नो सम्पूर्ण सञ्चालन बन्द गरेको छ । दोस्रो पटक पनि अदालती संरक्षणमा गएपछि कम्पनी गम्भीर आर्थिक समस्यामा परेको थियो । इरानसँगको युद्धका कारण जेट इन्धनको मूल्य बढेपछि यसको अवस्था झनै बिग्रिएको थियो । 

अन्तिम समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग उद्धार प्याकेजका लागि सहमति गर्ने प्रयास भए पनि ऋणदाताहरूको एक समूहले प्रस्ताव अस्वीकार गरेपछि कम्पनी बन्द हुने अवस्थामा पुगेको हो । स्पिरिट पछिल्ला २५ वर्षमा आर्थिक कारणले पूर्ण रूपमा बन्द हुने पहिलो ठूलो अमेरिकी एयरलाइन्स बनेको छ । 

कम्पनीको यो निर्णयले हजारौँ यात्रु अलपत्र परेका छन् भने भविष्यका लागि टिकट किनेका लाखौँ यात्रु प्रभावित भएका छन् । कम्पनीले ग्राहक सेवालाई पनि बन्द गर्दै यात्रुहरूलाई विमानस्थल नजान निर्देशन दिएको छ ।

कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “गत ३४ वर्षमा हाम्रो अल्ट्रा–लो–कस्ट मोडलले उद्योगमा पारेको प्रभावप्रति हामी गर्व गर्छौँ । तर मे २, २०२६ देखि हामीले सञ्चालन व्यवस्थित रूपमा बन्द गर्ने निर्णय गरेका छौँ ।” यस निर्णयका कारण करिब १७, हजार कामदार रोजगारी गुमाउने भएका छन् । यीमध्ये १४ हजार स्पिरिटका कर्मचारी हुन् भने बाँकी ठेक्का र अन्यसँग सम्बन्धित कामदारहरू हुन् । 

स्पिरिटले आफ्नै प्लेटफर्ममार्फत क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी टिकट किनेका यात्रुहरूलाई स्वतः रकम फिर्ता गर्ने जनाएको छ । तर ट्राभल एजेन्टमार्फत टिकट बुक गरेका यात्रुले सम्बन्धित एजेन्टसँग सम्पर्क गर्नुपर्नेछ । भौचर, क्रेडिट वा “फ्री स्पिरिट” पोइन्ट प्रयोग गरेर टिकट किनेका यात्रुहरूले भने रकम फिर्ता पाउने–नपाउने विषय अदालत प्रक्रियाबाट टुंगो लाग्नेछ ।

यात्रा बीचमै रहेका यात्रुहरूले अब अन्य एयरलाइन्स खोज्नुपर्ने भएको छ, जसले अतिरिक्त खर्च बढाउन सक्छ । यद्यपि यूनाइटेड एयरलाइन्स, डेल्टा एयरलाइन्स, जेट ब्लु एयरवेज र साउथवेष्ट एयरलाइन्सले स्पिरिटका यात्रुहरूका लागि एकतर्फी टिकट करिब २०० डलर आसपासमा सीमित गर्ने घोषणा गरेका छन् । अमेरिकी यातायात मन्त्री सिन डफीले यस कदमले प्रभावित यात्रुहरूलाई केही राहत दिने अपेक्षा गरिएको बताएका छन् ।