कोरियाले E-9 भिसा प्रणाली सुधार्ने तयारी, सीप र भाषामा दक्षता हाँसिल गरे E-9 भिजामै परिवार कोरिया ल्याउन दिइने

आप्रवासन आप्रवासन

दक्षिण कोरियाले विदेशी श्रमिकका लागि लागू रहेको E-9 भिसा प्रणालीमा महत्वपूर्ण सुधार गर्ने तयारी अघि बढाएको छ। श्रमिकको सीप र भाषा दक्षतालाई प्राथमिकता दिँदै उनीहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो। श्रम तथा रोजगार मन्त्रालयले अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै E-9 भिसालाई E-9-1, E-9-2 र E-9-3 जस्ता उप–श्रेणीमा विभाजन गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

नयाँ प्रस्तावअनुसार श्रमिकहरूले सीप अभिवृद्धि तथा सम्बन्धित प्रमाणपत्र हासिल गरे उच्च तहमा उक्लिने अवसर पाउनेछन्। उच्च श्रेणीमा पुगेका श्रमिकहरूलाई जागिर परिवर्तनमा सहजता दिने र परिवारलाई समेत दक्षिण कोरिया लैजान अनुमति दिने व्यवस्था गरिने तयारी छ। यसले लामो समयदेखि परिवारबाट टाढा बस्नुपर्ने बाध्यतालाई केही हदसम्म समाधान गर्ने अपेक्षा गरिएको छ।

सन् २००४ देखि लागू ईपिएस प्रणालीअन्तर्गत साना तथा मध्यम उद्योगहरूले स्थानीय कामदार अभाव हुँदा विदेशी श्रमिक भर्ना गर्न पाउने व्यवस्था छ। यस प्रणालीमार्फत आएका श्रमिकलाई सुरुमा ४ वर्ष १० महिनासम्म बस्न अनुमति दिइन्छ, जुन अधिकतम ९ वर्ष ८ महिनासम्म लम्ब्याउन सकिन्छ।

तर, हालको व्यवस्थामा श्रमिकहरूले सजिलै कार्यस्थल परिवर्तन गर्न नपाउने कडा नियम लागू छ, जसलाई तलब नपाउनु वा कम्पनी बन्द हुनुजस्ता विशेष अवस्थामा मात्र अपवाद दिइन्छ। यही कारणले मानवअधिकारका दृष्टिले पनि आलोचना हुँदै आएको छ।

श्रम मन्त्रालयका अनुसार गत वर्ष डिसेम्बरसम्म दक्षिण कोरियामा २ लाख ८२ हजारभन्दा बढी E-9 भिसा भएका श्रमिक कार्यरत छन्, जसमा करिब ८० प्रतिशत उत्पादन क्षेत्रमा संलग्न छन्। नयाँ सुधारले श्रमिकको अधिकार र सुविधा विस्तार गर्दै श्रम बजार व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।