कोशी टापुमै अर्नाको मौलिक जिन सङ्कटमा, देखिन थाल्यो मिश्रित विशेषता

आप्रवासन आप्रवासन

 

कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्त्वपूर्ण सिमसार तथा घाँसे मैदान हो। सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रय स्थलका रूपमा परिचित छ। जङ्गली अर्नाको मौलिक जिन हराउने खतराले यस क्षेत्रलाई चुनौती थपेको छ । 

वैज्ञानिक अध्ययनका अनुसार कोश टप्पु क्षेत्रमा खुल्ला चौपाया भैँसीको समस्या नयाँ होइन। सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण खुला चौपायाको जनसंख्या विकसित भएको विभिन्न अनुसन्धानमा उल्लेख छ । पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए। अहिले यस क्षेत्र वरपर हजारौँको सङ्ख्यामा घरपालुवा तथा फेरल गाईबस्तु चरिरहेका भेटिन्छन्। यही अवस्थाले जङ्गली अर्नाको आनुवंशिक शुद्धतामाथि ठुलो चुनौती खडा गरेको छ।खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अर्ना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ। यसले “जेनेटिक इरोजन” अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ। जङ्गली अर्नाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता बिस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ।

कोश टप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ। शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठुलो, कालो र शक्तिशाली हुन्छ। तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन्। तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ। यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ।

समस्या केवल आनुवंशिक मात्र छैन। घरपालुवा पशुहरूसँगको निकट सम्पर्कले रोग सर्ने जोखिम पनि बढाएको छ। घरेलु गाईबस्तुबाट विभिन्न सङ्क्रामक रोग जङ्गली अर्नामा फैलिन सक्ने खतरा रहन्छ। यदि रोग फैलियो भने सानो जनसंख्यामा रहेका जङ्गली अर्नालाई ठुलो क्षति पुग्न सक्छ। कोश टप्पुका घाँसे मैदानमा शान्त देखिने दृश्यभित्र वास्तवमा संरक्षणको गम्भीर संघर्ष लुकेको छ। यदि खुला चरन नियन्त्रण, फेरल पशु व्यवस्थापन र वैज्ञानिक निगरानी प्रभावकारी रूपमा लागू भएन भने भविष्यमा शुद्ध जङ्गली अर्ना केवल इतिहासका पानामा सीमित हुन सक्छन्।