प्रतिबन्धित कम्पनीमध्ये चार हङकङमा, चार संयुक्त अरब इमिरेट्समा र एउटा ओमानमा आधारित रहेको जनाइएको छ । यो कदम अमेरिकी अर्थमन्त्रालयले गत शुक्रबार इरानका लागि हतियार, ड्रोन तथा ब्यालिस्टिक मिसाइल निर्माणमा प्रयोग हुने सामग्री खरिदमा सहयोग गरेको आरोपमा व्यक्ति तथा कम्पनीमाथि लगाएको प्रतिबन्धपछि आएको हो ।
डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच बेइजिङमा भेटघाट हुनु केही दिनअघि यो निर्णय सार्वजनिक गरिएको हो । उक्त भेटमा ट्रम्पले इरानसँगको तनाव समाधान तथा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउन चीनको सहयोग माग्ने अपेक्षा गरिएको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले जारी गरेको नयाँ प्रतिबन्ध इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)लाई तेल बिक्री तथा चीनतर्फ ढुवानी गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई लक्षित गरिएको हो ।
ट्रम्प प्रशासनले इरानी सरकार तथा सेनालाई हतियार, आणविक कार्यक्रम र क्षेत्रीय सहयोगी समूहका लागि हुने आर्थिक स्रोतबाट वञ्चित गराउन प्रतिबन्धको प्रयोग जारी राख्ने अर्थमन्त्री स्कट बेस्सेन्टले बताएका छन् । उनले इरानी शासनले आतंकवादी गतिविधि सञ्चालन गर्न र विश्व अर्थतन्त्रलाई अस्थिर बनाउन प्रयोग गर्ने वित्तीय सञ्जाललाई काट्न ट्रेजरीले प्रयास जारी राख्ने भनेका छन् ।
यसैबीच विदेशमन्त्रालयले पनि आईआरजीसी र त्यसका शाखाहरूको आर्थिक संयन्त्र विघटन गर्न सहयोग गर्ने सूचनाका लागि १ करोड ५० लाख डलरसम्म पुरस्कार घोषणा गरेको छ । अमेरिकाले आईआरजी लाई आतंकवादी संगठनको रूपमा सूचीकृत गरेको छ । अमेरिकी वित्त मन्त्रालयका अनुसार आईआरजीले इरानी तेल ढुवानीको भुक्तानी व्यवस्थापन गर्न शेल कम्पनीहरूको प्रयोग गर्ने गरेको छ ।