पेट्रोलमा लगाइएको कर घटाउने पक्षमा ट्रम्प

आप्रवासन आप्रवासन

 

इरान युद्धका कारण विश्वभर इन्धन महँगो बनेको छ । युद्धको प्रभावले अमेरिकामा पनि इन्धन कयौं वर्षयताकै उच्च बिन्दुमा उक्लिएको छ । यस्तो परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय पेट्रोल कर घटाउने पक्षमा देखिएका छन । 

बढ्दो पेट्रोल मूल्यले अमेरिकी सवारी चालकहरूमा असन्तोष बढाइरहँदा कर निलम्बन गर्ने कुरालाई ट्रम्पले समर्थन गरेका हुन् । हाल अमेरिकामा प्रतिग्यालन १८ दशमलव ४ सेन्ट संघीय पेट्रोल कर लाग्दै आएको छ । यो कर स्थगित वा हटाउनका लागि अमेरिकी कांग्रेसबाट कानुन पारित हुन आवश्यक पर्छ । कांग्रेसमा ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेको छ । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने “हो, म कर घटाउनेछु” ।

कर कति समयका लागि स्थगित गरिने भन्ने प्रश्नमा उनले “जबसम्म उपयुक्त हुन्छ” भन्दै जवाफ दिएका थिए । मिसौरी रिपब्लिकन सिनेटर जोश हाउलीले सोमबार ९० दिनका लागि पेट्रोल कर तथा डिजेलमा लाग्ने २४ दशमलव ४ सेन्ट कर स्थगित गर्ने विधेयक पेश गर्ने बताएका छन् । फेब्रुअरी २८ मा युद्ध सुरु भएपछि इन्धन मूल्य लगातार बढिरहेको छ । इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने रणनीतिक समुद्री मार्ग स्टेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द राखेकाले विश्व बजारमा तेल आपूर्तिमा असर परेको छ ।

अमेरिकी मोटर क्लब एएएका अनुसार सोमबारसम्म अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर ५२ सेन्ट पुगेको छ, जुन सन २०२२ पछिकै उच्च हो । त्यसबेला मूल्य ५ डलर शून्य १ सेन्टसम्म पुगेको थियो । सिनेटमा बहुमतका नेता जोन थुनले पेट्रोल कर स्थगनबारे स्पष्ट समर्थन जनाएका छैनन् ।  उक्त कर सडक मर्मतका लागि महत्त्वपूर्ण आम्दानीको स्रोत हो भन्दै उनले इन्धन मूल्य घटाउने सबैभन्दा राम्रो उपाय स्ट्रेट अफ होर्मुज पुनः खोल्नु भएको बताएका छन् । यसअघि मार्चमा मार्क केली लगायत केही डेमोक्र्याट सांसदहरूले अक्टोबरसम्मका लागि पेट्रोल कर स्थगित गर्ने प्रस्ताव गरेका थिए । उक्त करबाट हरेक महिना करिब २ अर्ब ५० करोड डलर सडक पूर्वाधारका लागि संकलन हुने गर्दछ ।