कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा ट्यांकर स्ट्रेट अफ होर्मुज पार गर्दै पाकिस्तानतर्फ गएको छ ।
जहाज निगरानीसम्बन्धी तथ्यांकले यसको पुष्टि गरेको हो । 'अल खराइतियात' नामक उक्त ट्यांकर इरान र अमेरिकाबिच फेब्रुअरीको अन्त्यदेखि सुरु भएको तनावपछि होर्मुज जलडमरू मध्य पार गर्ने कतारी स्वामित्व तथा सञ्चालनमा रहेको पहिलो ट्यांकर भएको जलयातायात विश्लेषकहरूले बताएका छन् ।
आइतबार बिहान ४ बजे (ईटी समयअनुसार) उक्त जहाज गल्फ अफ ओमान क्षेत्रमा रहेको बताइएको छ । मरिन ट्राफिकका अनुसार जहाजले क्वेश्म टापु नजिक इरानद्वारा स्वीकृत उत्तरी मार्ग प्रयोग गर्दै होर्मुज पार गरेको थियो । २ लाख घनमिटरभन्दा बढी तरल ग्यास बोक्न सक्ने अल खराइतियातले यस महिनाको सुरुमा रस लफान निर्यात केन्द्रबाट ग्यास लोड गरेको थियो । सामान्य अवस्थामा कतारले विश्वको झन्डै २० प्रतिशत एलएनजी आपूर्ति गर्ने गर्छ । तर हालको द्वन्द्वका कारण कतारको उत्पादन बन्द गरिएको तथा मुख्य ग्यास पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।