रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध ‘अन्त्यतिर आउँदै गरेको’ बताएका छन् ।
शान्ति सम्झौता अन्तिम चरणमा पुगेमा आफू तेस्रो मुलुकमा युक्रेनी समकक्षी भ्लोडिमिर जेलेन्स्कीसँग भेट्न इच्छुक रहेको उनले व्यक्त गरेका हुन् । रुसको वार्षिक भिक्ट्री डे परेडका अवसरमा शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै पुटिनले यस्तो टिप्पणी गरे । यसै समयमा रुस र युक्रेनबिच तीन दिने युद्धविराम सुरु भएको छ भने दुवै देश १,००० कैदी साटासाट गर्न सहमत भएका छन् । यी घटनाक्रमले कूटनीतिक प्रगतिको नयाँ आशा जगाएका छन् । परेडका क्रममा पुटिनले युक्रेनमा लडिरहेका रुसी सेनाको प्रशंसा गर्दै उनीहरूको मिसनलाई नेटोविरुद्धको ‘न्यायपूर्ण कार्य’ का रूपमा चित्रण गरे । ‘विजय सधैं हाम्रो थियो र हाम्रो हुनेछ,’ मस्कोको रेड स्क्वायरमा सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा दुवै देश शनिबारदेखि सोमबारसम्मका लागि युद्धविराम गर्न सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो युद्धविराममा सबै सैन्य गतिविधि रोकिनेछ र दुवै देशबाट १,००० कैदीहरूको आदानप्रदान हुनेछ ।’ उनले युद्ध अन्त्यका लागि कुराकानी जारी रहेको र हरेक दिन सहमति नजिक पुगिरहेको उल्लेख गरे । जेलेन्स्कीले यसअघि नै पुटिनसँग वार्ताको प्रस्ताव राखेका थिए तर मस्को जान अस्वीकार गरेका थिए । शनिबार पुटिनले वार्ताका लागि नभई तयार भइसकेको शान्ति सम्झौतामा हस्ताक्षर गर्न मात्र तेस्रो मुलुकमा भेट्न सकिने बताए ।
‘तेस्रो मुलुकमा भेटघाट सम्भव छ, तर दीर्घकालीन ऐतिहासिक परिप्रेक्ष्यमा आधारित शान्ति सन्धि तयार भएपछि मात्र,’ पुटिनले भने । यो भेटघाट वार्ताका लागि नभई अन्तिम सम्झौताका लागि हुनुपर्ने उनको अडान छ । सन् १९९९ को अन्त्यदेखि सत्तामा रहेका पुटिनले अहिले युक्रेन युद्धका कारण रुसी अर्थतन्त्र र समाजमा उत्पन्न दबाबको सामना गरिरहेका छन् । चार वर्षभन्दा लामो समयदेखि जारी यस युद्धले ठुलो जनधनको क्षति पुर्याएको छ ।
रुसले हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । युरोपेली देशहरूसँगको सुरक्षा वार्ताका सम्बन्धमा सोधिएको प्रश्नमा पुटिनले जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडरसँग संवाद गर्न आफूलाई सहज हुने बताए । ‘मेरो व्यक्तिगत विचारमा संघीय गणतन्त्र जर्मनीका पूर्व चान्सलर श्रोडर उपयुक्त हुनुहुन्छ,’ पुटिनले भने ।