कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल सञ्चालन अनुमति नपाएका एयरलाइनमार्फत टिकट वा बुकिङ नगर्न यात्रुलाई आग्रह गरेको छ। यात्रुको अधिकार सुरक्षित राख्न र हवाई यातायातलाई व्यवस्थित बनाउन यस्तो चेतावनी जारी गरिएको DGCA ले जनाएको छ।
DGCA का प्रवक्ता अब्दुल्ला अल–रज्हीका अनुसार अहिले कुवेत एयरपोर्टबाट केवल Kuwait Airways र Jazeera Airways मात्र सञ्चालनमा छन्। अन्य कुनै पनि एयरलाइनले अझै आधिकारिक उडान अनुमति पाइसकेका छैनन्।
यसअघि अनधिकृत एयरलाइनमार्फत बुकिङ गरिसकेका यात्रुले Sahel app मार्फत उजुरी दिन सक्ने पनि बताइएको छ। सो एपमार्फत एयरलाइन र ट्राभल एजेन्सीसँग सम्बन्धित गुनासा दर्ता र ट्र्याक गर्न सकिने, तथा आवश्यक कानुनी कारबाही अघि बढाइने DGCA ले जनाएको छ।
कुवेतमा विमान कम्पनी र ट्राभल एजेन्सीसम्बन्धी उजुरीका लागि Sahel app आधिकारिक डिजिटल माध्यमका रूपमा प्रयोग भइरहेको पनि समाचारमा उल्लेख छ।