अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

आप्रवासन आप्रवासन

अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो । 

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को मुख्य आयोजनामा भएको नेपाल परेडमा सहभागीहरूले नेपाल र अमेरिकाको झन्डा फहराउँदै नेपाली पोसाकसहित विभिन्न जातजातिका भेसभुसामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिए ।

एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेसन संस्थाले सहयोग गरेको कार्यक्रममा बोल्डर सहरका मेयर आरोन ब्रकेट, संस्थापक नारायण श्रेष्ठ, आरएमएफएनका अध्यक्ष आकृति राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा लगायत कोलोराडोमा रहेका नेपाली समुदाय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

यस वर्षको नेपाल परेड कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका बोल्डर सहरका मेयर ब्रकेटले काठमाडौँ महानगर र बोल्डर सहरबिच भगिनी सम्बन्ध कायम रहेको भन्दै नेपाल–अमेरिका सम्बन्धमा दुई सहरको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्बन्ध विशेष रहेको बताए ।

सुरुदेखि अहिलेसम्म आफूले हरेक वर्ष नेपाल डे परेड कार्यक्रम नजिकबाट नियालेको तथा सहभागी भएको भन्दै उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन र दुई देशबिचको आपसी सांस्कृतिक सम्बन्ध बलियो बनाइराख्नुपर्नेमा जोड दिए । उनले हालै मात्र काठमाडौँ उपत्यकाको भ्रमण गरेको सम्झना गर्दै बोल्डर सहरमा धेरै नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको पनि बताए ।

यस्तै नेपाल डे परेडका संस्थापक तथा विशेष अतिथि नारायण श्रेष्ठले सन् २००४ देखि सुरु गरेको नेपाल डे परेड यस वर्ष पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । यस वर्ष पनि नेपाली पोसाक, नेपालको झन्डा र नेपालका विभिन्न जातजातिको भेसभुसामा नेपाली मौलिक बाजा बजाउँदै बोल्डर सहर परिक्रमा गर्दा अमेरिकामा नेपाल चिनाउन पाउँदा हर्षित भएको टिप्पणी गरे । नेपालीहरूले नेपालको झन्डासहित बोल्डर सहर परिक्रमा गर्दा मानिसहरूले मोबाइलमा फोटो भिडियो खिचेर राख्नु गर्वको क्षण भएको भन्दै यसलाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्ने बताए ।

Nepal Day Paradesssssssss

‘हामीले नेपाली झन्डा फहराउँदै नेपाली पोसाकमा अझ विभिन्न जातजातिले नेपाली मौलिक भेसभुसा लगाएर बाजा बजाउँदै सहर परिक्रमा गर्दा बोल्डरका स्थानीय तथा पर्यटकले मोबाइलमा नेपाल डे परेडको फोटो भिडियो खिचिरहेका थिए’ उनले भने, ‘यो हाम्रा लागि सबैभन्दा गर्वको क्षण हो । यो एक दिन भए पनि हामीले २३ वर्षदेखि अमेरिकामा नेपाल चिनाइरहेका छौँ । अहिले अमेरिकाका न्युयोर्क, क्योलिफोर्नियासँगै युरोप, एसिया र अष्ट्रेलियामा पनि नेपाल डे परेडमार्फत नेपालको प्रवर्द्धन गरिरहेका छौँ । हरेक वर्ष यसलाई निरन्तरता दिनुपर्छ र दिन्छौँ पनि ।’

यस्तै कार्यक्रममा आयोजक आरएमएफएनकी अध्यक्ष आकृति राईले वर्षौदेखि अमेरिकामा नेपाल चिनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिन सफल भएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । परेडमा सहभागीमध्ये नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदायले आफ्नो जातजातिको भेसभुसा लगाएर मौलिक बाजा बजाउँदै सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरेका थिए ।

Nepal Day Parade Coverline

नेपाली नयाँ वर्षको अवसर तथा सन्दर्भ पारेर अमेरिकामा नेपाल चिनाउने नेपाल डे परेड सबैभन्दा पहिले कोलोराडोको बोल्डर सहरमा सन् २००४ मा सुरु भएको थियो । पछिल्लो समय अमेरिकाका अन्य सहर, युरोपका विभिन्न देश तथा अस्ट्रेलियाका विभिन्न सहरमा पनि नेपाल डे परेड फेस्टिभलहरू हुँदै आएका छन् ।