साउदीमा ५४४ नेपाली जेलमा, १३० श्रमिकको मृत्यु

संगम पहरी संगम पहरी

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार र समस्या समाधानमा साउदीस्थित नेपाली दूतावासले पछिल्लो समय सक्रियता तीव्र बनाएको छ। जेलमा रहेका नेपालीदेखि अस्पतालमा उपचाररत बिरामीसम्मको सहजीकरणमा दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ।

दूतावास स्रोतका अनुसार हाल साउदी अरबका विभिन्न जेलमा ५४४ जना नेपाली रहेका छन्। उनीहरू श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, फरारको आरोप, आपराधिक अभियोग तथा प्रशासनिक जटिलताका कारण हिरासतमा रहेको बताइएको छ। दूतावासले यस्ता श्रमिकको अवस्थाबारे नियमित जानकारी लिने, कानुनी परामर्श उपलब्ध गराउने र रिहाइ तथा स्वदेश फिर्ताका लागि पहल गर्ने काम गरिरहेको जनाएको छ।

त्यस्तै, गत साउनदेखि हालसम्म विभिन्न कारणले १३० जना नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ। तीमध्ये धेरैको मृत्यु हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या, दीर्घरोग तथा प्राकृतिक कारणले भएको बताइएको छ। मृतकको शव व्यवस्थापन, कानुनी प्रक्रिया पूरा गर्ने, परिवारसँग समन्वय गर्ने र शव नेपाल पठाउने काममा पनि दूतावास सक्रिय रहेको बताइएको छ।

स्वास्थ्य समस्यामा परेका नेपालीहरूको उद्धार र उपचार व्यवस्थापनमा समेत दूतावासले ध्यान दिएको छ। हाल विभिन्न अस्पताल तथा उपचार केन्द्रमा रहेका २७ जना गम्भीर बिरामी नेपालीको उद्धार तथा उपचार सहजीकरण गरिएको दूतावासले जनाएको छ। केही बिरामीलाई नेपाल फर्काइसकिएको छ भने बाँकीलाई फर्काउने प्रक्रिया अघि बढाइएको छ।

समस्या समाधानकै क्रममा दूतावासले रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर १,५६४ जना नेपाली श्रमिकका गुनासा सम्बोधन गरेको जनाएको छ। तलब नपाउने, पासपोर्ट रोक्का हुने, करारअनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव तथा बसोबाससम्बन्धी समस्यामा दूतावासले पहल गरेको बताइएको छ।

नेपाल फर्किन चाहने तथा कागजात समस्यामा परेका श्रमिकका लागि एक्जिट भिषा प्रक्रियामा पनि दूतावासले सहजीकरण गर्दै आएको छ। हालसम्म करिब ५०० जना नेपालीलाई एक्जिट भिषा प्रक्रियामा सहयोग गरिएको जनाइएको छ।

दूतावासले गुनासो छिटो सुन्न र समाधान गर्न ह्वाट्सएपसहित आधुनिक सञ्चार माध्यमलाई प्राथमिकतामा राखेको जनाएको छ। दैनिक सयौं सन्देश, इमेल र फोनमार्फत सहायता माग आउने भएकाले सबै सम्पर्क तुरुन्त उठाउन नसकिने भए पनि कुनै गुनासोलाई बेवास्ता नगरिएको दाबी गरिएको छ।

यसैबीच, “फोन उठ्दैन” भन्ने गुनासोबारे साउदीस्थित नेपाली दूतावासका श्रम कन्सुलर कबिराज उप्रेतीले सेवा निरन्तर भइरहेको बताएका छन्। सीमित जनशक्ति र स्रोतका बीच पनि श्रमिकको समस्यालाई प्राथमिकतामा राखेर उद्धार, अस्पताल समन्वय, कानुनी सहायता, शव फिर्ता र अन्य सहजीकरणको काम भइरहेको उनको भनाइ छ।

उप्रेतीका अनुसार दूतावासले पछिल्लो समय अनलाइन श्रमिक सहायता कार्यक्रमसमेत अघि बढाएको छ। तर, लाखौं नेपाली श्रमिक रहेको देशमा सीमित कर्मचारी, कार्यचाप, प्रविधिगत चुनौती र सूचना अभावका कारण सेवा अझै पूर्ण रूपमा प्रभावकारी बन्न नसकेको गुनासो भने कायम नै छ।

साउदीमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले दूतावासको सेवा प्रणालीलाई अझ छिटो, भरपर्दो, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।