भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी ऊर्जा संकट, युद्ध र आर्थिक अस्थिरताबारे गम्भीर चेतावनी दिएका छन्। नेदरल्यान्ड्सको हेगमा भारतीय मूलका समुदायलाई सम्बोधन गर्दै उनले वर्तमान दशक मानवताका लागि “लगातार संकटको दशक” बन्दै गएको बताएका हुन्।
प्रधानमन्त्री मोदीले कोरोना महामारीपछि विश्व अझै सामान्य अवस्थामा फर्किन नपाउँदै विभिन्न युद्ध र ऊर्जा संकटले संसारलाई थप अस्थिर बनाएको बताए। उनले अहिलेको अवस्था सुधार नभए पछिल्ला धेरै दशकको विकास, आर्थिक उपलब्धि र गरिबी न्यूनीकरणका प्रयासहरू समेत खेर जान सक्ने चेतावनी दिए।
उनले भने, “पहिले कोरोना महामारी आयो, त्यसपछि युद्ध सुरु भए। अहिले संसार निरन्तर तेल र ऊर्जा संकटसँग जुधिरहेको छ। यदि यो अवस्था परिवर्तन भएन भने, पछिल्ला दशकका उपलब्धिहरू नष्ट हुन सक्छन् र ठूलो जनसंख्या फेरि गरिबीको दलदलमा फस्न सक्छ।”
पाँच देशीय भ्रमणको दोस्रो चरणमा नेदरल्यान्ड्स पुगेका मोदीले विश्वव्यापी संकटको प्रभाव विशेषगरी विकासशील राष्ट्रहरूमा गम्भीर रूपमा देखिन थालेको उल्लेख गरे। ऊर्जा संकटका कारण इन्धनको मूल्य, ढुवानी खर्च र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा विश्व अर्थतन्त्र दबाबमा परेको उनको भनाइ थियो।
ऊर्जा संकटको दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै भारत सरकारले आफ्ना नागरिकलाई ऊर्जा बचत गर्न पनि आग्रह गरेको छ। प्रधानमन्त्री मोदीले सम्भव भएसम्म “वर्क फ्रम होम” अपनाउन, अनावश्यक विदेश यात्रा कम गर्न, इन्धन बचत गर्न र विदेशी मुद्रा जोगाउन अपिल गरेका छन्।
विश्वका विभिन्न भागमा युद्ध, तेल संकट र आर्थिक अस्थिरता बढिरहेका बेला मोदीको यो अभिव्यक्तिलाई विश्वव्यापी संकटबारे आएको महत्वपूर्ण चेतावनीका रूपमा हेरिएको छ।