अमेरिकामा आयोजित एउटा एअर शोका क्रममा दुईवटा फाइटर जेट आकाशमै आपसमा ठोक्किएपछि चालक दलका चार सदस्यको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन्।
हवाई प्रदर्शन गरिरहेका अमेरिकी नौसेनाका दुईवटा ‘इए१८-जी’ जेटहरू दुर्घटनाग्रस्त हुँदा चालक दलका सबै सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी नौसेनाका प्रवक्ताले जानकारी दिएका छन्। उनीहरू घाइते भए वा भएनन् भन्ने कुरा भने अझै प्रस्ट भइसकेको छैन। यो नाटकीय घटना आइतबार आइडाहोको माउन्टेन होम एअर फोर्स बेसबाट ३.२ किलोमिटर उत्तर-पश्चिममा आयोजित ‘गनफाइटर स्काइज एअर शो’ को दोस्रो तथा अन्तिम दिन भएको हो। दुर्घटनापछि त्यहाँ आगो सल्किएको थियो र बाँकी रहेका प्रदर्शनहरू रद्द गर्दै केही समयका लागि सैन्य बेसलाई पूर्ण रूपमा बन्द गरिएको थियो। यस घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ।
माउन्टेन एअर फोर्स बेस गनफाइटरले आइतबार सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा ‘दुर्घटनामा संलग्न चालक दलका सदस्यहरूको अवस्था स्थिर छ’ भनिएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा सम्पूर्ण पाहुनाहरूलाई धैर्यता र सहानुभूति देखाउनुभएकोमा धन्यवाद, जसले गर्दा हामीलाई यस घटनामा छिटो र सुरक्षित रूपमा उद्धार कार्य गर्न सहज भयो।’ कमान्डर अमेलिया उमायामका अनुसार चालक दलका सदस्यहरूको स्वास्थ्यकर्मीहरूद्वारा परीक्षण भइरहेको छ। उमायामले दुर्घटनाग्रस्त ‘इए-१८जी ग्राउलर्स’ जेटहरू वासिङ्टन राज्यको एउटा इलेक्ट्रोनिक अट्याक स्क्वाड्रनका रहेको जानकारी दिएकी छन्।
अमेरिकी नौसेनाका अनुसार यी प्रत्येक जेटको मूल्य करिब ६ करोड ७० लाख डलर पर्छ। एअर शो आयोजना गर्न सहयोग गर्ने सिल्भर विङ्स अफ आइडाहोकी किम साइक्सले सैन्य बेसमा कोही पनि घाइते नभएको बताएकी छन्। यसअघि सन् २०१८ मा आयोजित गनफाइटर स्काइज एअर शोका क्रममा पनि एउटा ग्लाइडर पाइलटको दुर्घटनामा मृत्यु भएको थियो।