जापानमा तीन दशकदेखि बसोबास गर्दै आएका एक भारतीय मूलका व्यक्तिको भावुक भिडियो सामाजिक सञ्जालमा अहिले तीव्र रूपमा भाइरल बनेको छ। जापानबाट डिपोर्ट हुनसक्ने डरपछि उनी आँसु झार्दै आफ्नो पीडा सुनाएको भिडियोले धेरैलाई भावुक बनाएको हो।
मनिष कुमार नामका ती व्यक्ति करिब ३० वर्षदेखि जापानमा बस्दै आएका थिए। उनले टोकियो नजिकै सैतामा क्षेत्रमा लामो समयदेखि भारतीय रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। तर जापान सरकारले पछिल्लो समय व्यापारिक भिसासम्बन्धी नियम कडा बनाएपछि उनको भिसा नवीकरणमा समस्या आएको बताइएको छ।
भिडियोमा उनी भावुक हुँदै भन्छन्, “मेरा बच्चाहरू जापानी भाषा मात्र बोल्छन्। उनीहरूको साथी, पढाइ र जीवन सबै जापानमै छ। अब अचानक देश छोड्नुपर्छ भनिँदा हामी कहाँ जाने?”
उनको यही अभिव्यक्तिपछि भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। धेरै प्रयोगकर्ताले वर्षौं विदेशमा बसेर जीवन बनाएका आप्रवासीहरूको भविष्य एकैपटक असुरक्षित बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
रिपोर्टअनुसार जापानले पछिल्लो समय “बिजनेस म्यानेजर भिसा” सम्बन्धी नीति कडा बनाएको छ। नयाँ नियमअनुसार ठूलो लगानी, स्थानीय कर्मचारी र व्यवसायसम्बन्धी थप मापदण्ड अनिवार्य गरिएपछि धेरै विदेशी व्यवसायी समस्यामा परेको बताइएको छ।
यो घटनाले जापानलाई स्थायी भविष्यको गन्तव्य ठानेर जाने नेपालीहरूलाई पनि गम्भीर सन्देश दिएको छ। वर्षौंसम्म जापानमा बसेर काम गरे पनि अध्यागमन नीति, भिसा नियम र कानुनी प्रक्रियामा आएको परिवर्तनले बसाइँ नै संकटमा पर्न सक्ने देखिएको छ।
विशेषगरी अध्ययन, रोजगारी वा व्यवसायका लागि जापान जाने तयारीमा रहेका नेपालीहरूले केवल कमाइ र बसोबासको सपना मात्र होइन, त्यहाँको कानुन, भिसा प्रणाली र दीर्घकालीन नीतिबारे पनि राम्रोसँग बुझ्नुपर्ने आवश्यकता देखिएको छ।