अमेरिकी सेनाको अफ्रिकी कमान्ड (अफ्रिको) ले नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा सक्रिय इस्लामिक स्टेट अफ इराक एन्ड द लेभेन्ट (आईएसआईएल) का लडाकुमाथि थप हवाई आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू नाइजेरियाली सरकारसँगको समन्वयमा गरिएको बताइएको छ ।
अफ्रिकोका अनुसार आइतबार गरिएको यी अतिरिक्त सैन्य कारबाहीमा कुनै पनि अमेरिकी वा नाइजेरियाली सुरक्षाकर्मीतर्फ भने क्षति भएको छैन ।
कमान्डले जारी गरेको वक्तव्यमा यी कारबाहीले आतङ्कवादी समूहको आक्रमण योजना बनाउने क्षमतालाई कमजोर बनाउने उद्देश्य राखेको बताइएको छ । साथै, अमेरिका आफ्ना साझेदारसँग मिलेर साझा सुरक्षा खतरा समाप्त गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ । यो पछिल्लो कारबाही त्यस्तो समयमा भएको हो, जब दुई दिनअघि नै नाइजेरिया र अमेरिकाले संयुक्त अपरेसनमार्फत आईएसआईएलका दोस्रो तहका नेता अबु–बिलाल अल–मिनुकी मारिएको घोषणा गरेका थिए । उक्त आक्रमण ताल चाड बेसिन क्षेत्रमा भएको नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त अपरेसनबारे पहिलो घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार अल–मिनुकीको मृत्युले पश्चिम अफ्रिकामा सक्रिय आईएसआईएल सम्बद्ध समूहहरूको नेतृत्व संरचनामा ठुलो रिक्तता सिर्जना हुन सक्ने देखिएको छ । यसले समूहको वित्तीय तथा सैन्य क्षमतामा समेत असर पार्ने अनुमान गरिएको छ । पछिल्लो समय अमेरिका र नाइजेरियाबिच सुरक्षा सहकार्य बढ्दै गएको छ । केही महिनादेखि अमेरिकी सैनिकहरू नाइजेरियामा तैनाथ छन्, जसले आतङ्कवाद विरुद्धको लडाइँमा प्रशिक्षण, गुप्तचर सूचना आदानप्रदान र प्राविधिक सहयोग प्रदान गरिरहेका छन् ।