वैशाखमा ७४ हजार बढी नेपाली काम खोज्दै विदेशिए

आप्रवासन आप्रवासन

वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् ।

तीमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । उक्त अवधिमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।

चैत २०८२ मा भने ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएर वैदेशिक रोजगारीमा गएका थिए । चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएका हुन् ।

चालु आर्थिक वर्ष साउनदेखि वैशाख मसान्तसम्ममा ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला  छन् ।