अब श्रम मन्त्रालयका कर्मचारीले उपहार लिन र अफिसमा सामाजिक सञ्जाल चलाउन नपाउने

संगम पहरी संगम पहरी

युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुनः संरचना भई युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै विस्तृत आचारसंहिता लागू गरिएको हो।

मन्त्रालयका अनुसार कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, अनुशासित र सेवामुखी बनाउने उद्देश्यले आचारसंहिता जारी गरिएको हो। यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सार्वजनिक विश्वास बढाउने तथा कर्मचारीको व्यवहारलाई मर्यादित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

नयाँ आचारसंहितामा कर्मचारीको व्यक्तिगत व्यवहारदेखि कार्यालयीय अनुशासन, सेवा प्रवाह, आर्थिक पारदर्शिता, गोपनीयता र सामाजिक सञ्जाल प्रयोगसम्मका विषय समेटिएका छन्।

आचारसंहिताअनुसार अब कर्मचारीले सेवाग्राहीसँग शिष्ट, सम्मानजनक र सहयोगी व्यवहार गर्नुपर्नेछ। कुनै पनि प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन पूर्ण रूपमा निषेध गरिएको छ। साथै आफ्नो पद र अधिकारको दुरुपयोग गर्ने, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्ने वा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि प्रतिबन्ध लगाइएको छ।

मन्त्रालयले कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोशाक लगाउन तथा कार्यालयभित्र अनुशासित व्यवहार अपनाउन निर्देशन दिएको छ। सहकर्मीसँग सहयोगी सम्बन्ध कायम गर्नुपर्ने तथा कार्यालयसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ।

विशेषगरी सामाजिक सञ्जाल प्रयोगमा पनि मन्त्रालयले कडाइ गरेको छ। कार्यालय समयमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइएको छ। साथै मन्त्रालय वा सरकारी निकायको नाम प्रयोग गरेर व्यक्तिगत विचार वा सामग्री सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ।

आचारसंहितामा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, तथ्यांक विश्लेषण र मेसिन सिकाइ जस्ता प्रविधि प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वको सिद्धान्त पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, कार्यालय समयबाहिर सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सरकारी सेवाको मर्यादा र संस्थाको प्रतिष्ठामा असर नपर्ने गरी उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ। सरकारी नीति विरुद्ध भ्रम फैलाउने, गोप्य सूचना चुहाउने वा संस्थाको छवि बिग्रिने सामग्री पोस्ट गरेमा त्यसलाई अनुशासनहीनता मानिने मन्त्रालयले स्पष्ट पारेको छ।

नयाँ आचारसंहिताले लैंगिक समानता, समावेशिता, मानवअधिकार र पेशागत नैतिकतालाई पनि प्राथमिकतामा राखेको छ। कार्यालयभित्र कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा यौनजन्य उत्पीडन गर्न नहुने प्रावधान समेत समावेश गरिएको छ।

मन्त्रालयले आचारसंहिताको उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार विभागीय कारबाही गरिने जनाएको छ। साथै सबै कर्मचारीले आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

मन्त्रालयका अनुसार यो नयाँ आचारसंहिताले सरकारी सेवा प्रवाहलाई थप पारदर्शी, प्रविधिमैत्री, जवाफदेही र नागरिकमैत्री बनाउने विश्वास गरिएको छ।