२७ जना कन्सल्टेन्सी सञ्चालक विरूद्ध म्याद थप, ३६ जना हाजिर जमानीमा रिहा

आप्रवासन आप्रवासन

कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ मा काठमाडौँ उपत्यकाका १९५ वटा त्यस्ता कार्यालयमा छापा मारेको थियो । प्रहरीले ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो । 

उनीहरूमध्येका २७ जनालाई कानुन अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सञ्चालकहरू विरुद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

प्रहरीले अदालतमा उपस्थित गराएपनि कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीका ५ जना म्यानेजरलाई हिरासतमा राख्न अदालतले अनुमति दिएन । सञ्चालक फेला नपरेका ५ जना म्यानेजरलाई अदालतले थुनमा नराख्न भनेको हो ।

शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेका २७ जना कन्सल्टेन्सी सञ्चालकले दर्ता बिना नै कम्पनी सञ्चालन गरेको र विदेशमा विद्यार्थीहरू पठाउने गरेको भेटिएको छ । विदेशमा उनीहरुले पठाएको विद्यार्थीहरू अलपत्र परेको गुनासो आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । उनले भने, ‘जापानमा पनि धेरै मानिसहरू अलपत्र परेको गुनासो आएको छ, हामीले उजुरी मागेका छौँ ।’

छुटाउनुभयाे कि ? कन्सल्टेन्सीबाट ठगिएको भए सम्पर्कमा आउन प्रहरीको आग्रह

यहाँबाट कन्सल्टेन्सीमार्फत पठाइएका मानिसहरू जापान पुगेर अलपत्र परेका हुन् । कन्सल्टेन्सी सञ्चालकहरू विरुद्ध प्रहरीले ठगी र किर्ते मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । दर्ता प्रक्रिया गरिरहेका ३६ जनालाई प्रहरीले हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई शिक्षा विभागको शैक्षिक परामर्श शाखामा पठाउने प्रहरीको तयारी छ ।

शैक्षिक परामर्शदाता कम्पनी र कन्सल्टेन्सीहरूले भिसाको ग्यारेन्टी गर्ने र पासपोर्ट आफैँले राखेर सेवाग्राहीलाई हैरानी दिने गरेको भेटिएको छ । एसपी कार्की भन्छन्, ‘दूतावासले लगाउने भिसा उनीहरुले ग्यारेन्टी गर्न मिल्दैन।’

cs