युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र गणतन्त्र कोरिया जाने तयारीमा रहेका नेपाली उम्मेदवारहरूका लागि महत्त्वपूर्ण सूचना जारी गरेको छ। मन्त्रालयले दुवै देशसँग सम्बन्धित प्रक्रियाबारे भ्रम नपाल्न र आगामी विज्ञापन तथा निर्धारित प्रणालीअनुसार मात्रै अगाडि बढ्न आग्रह गरेको हो।
इजरायलतर्फको प्रक्रियाबारे मन्त्रालयले जनाएको अनुसार नेपाल र इजरायलबिच सन् २०२० मा भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली श्रमिकहरू काम गर्दै आएका छन्। वैदेशिक रोजगार विभागले २०८१ असार ११ गते प्रकाशित विज्ञापनमार्फत प्राप्त दरखास्तमध्ये न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूलाई लक्की ड्रमार्फत छनोट गरेको थियो। सो प्रक्रियाबाट २ हजार ११२ नेपाली श्रमिक छनोट भएकामा धेरैजसो इजरायल पुगिसकेका छन् भने बाँकी जाने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त लक्की ड्रमा नपरेका १ हजार १५३ उम्मेदवारलाई पनि समेटेर इजरायल पठाउन सहजीकरण र कूटनीतिक पहल गरिएको थियो। तर हालका अवस्थामा त्यो प्रक्रिया अघि बढाउन सम्भव नभएको र इच्छुक उम्मेदवारहरूले आगामी हुने नयाँ विज्ञापनमा सहभागी भएर फेरि प्रक्रिया पूरा गर्न सक्ने जानकारी मन्त्रालयलाई प्राप्त भएको सूचनामा उल्लेख छ।
त्यसैले मन्त्रालयले इजरायल जान चाहने उम्मेदवारलाई हालको कार्यान्वयन अवस्थालाई बुझेर आगामी विज्ञापनमा सहभागी हुन आग्रह गरेको छ। मन्त्रालयले गन्तव्य मुलुकको नियम, प्रणाली र व्यवहारिक यथार्थलाई ध्यानमा राख्न पनि सुझाव दिएको छ।
यसै गरी, गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली अर्थात् ईपीएसमार्फत जाने तयारीमा रहेका उम्मेदवारहरूलाई पनि मन्त्रालयले उस्तै सन्देश दिएको छ। सन् २००७ देखि ईपीएस प्रणालीमार्फत नेपालीहरू कोरिया जाने क्रम जारी रहेको र भाषा परीक्षा पास गरेर रोष्टरमा पर्न लागेका उम्मेदवारहरूले बारम्बार रोष्टर थप, परिवर्तन वा समयावधि बढाउन माग गर्दै आएको मन्त्रालयको भनाइ छ।
तर नेपाल र कोरिया सरकारबिचको द्विपक्षीय श्रम समझदारी तथा ईपीएस प्रणालीअनुसार नै सबै प्रक्रिया सञ्चालन हुने भएकाले यसबारे थप माग गरिरहन आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले उम्मेदवार र सरोकारवालाहरूलाई सहयोग र समझदारीका साथ प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
मन्त्रालयको यो सूचनाले इजरायल र कोरिया जाने तयारीमा रहेका हजारौँ नेपालीलाई आफ्नो प्रक्रिया बुझेर, धैर्यका साथ र आधिकारिक सूचनामार्फत मात्रै अगाडि बढ्नुपर्ने सन्देश दिएको छ।
