भारतसहित विभिन्न देशका नागरिकहरूले अब थाइल्यान्डमा ३० दिनभन्दा बढी बस्नका लागि भिसा लिनुपर्ने भएको छ। थाइल्यान्ड सरकारले यसअघि दिँदै आएको ६० दिने भिसा छुटको व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेसँगै यो नयाँ नियम लागू हुन लागेको हो।
यसअघि सन् २०२४ जुलाई महिनादेखि कोभिड–१९ महामारीपछि देशको अर्थतन्त्रलाई गति दिन थाइल्यान्डले भारतसहित ९३ देशका पर्यटकहरूलाई ६० दिनसम्म बिनाभिसा बस्न पाउने अनुमति दिएको थियो। तर, मंगलबार बसेको थाइल्यान्डको मन्त्रिपरिषद् बैठकले उक्त छुट नीतिलाई अन्त्य गर्ने योजनालाई स्वीकृति दिएको छ।
अब कुन देशका नागरिक कति समय बस्न पाउने भन्ने अवधि प्रत्येक देशको हिसाबले छुट्टाछुट्टै तय गरिनेछ। थाइल्यान्ड सरकारले सुरक्षा संवेदनशीलता र जटिल भिसा प्रणालीलाई यस परिवर्तनको मुख्य कारण बताएको छ। पछिल्लो समय थाइल्यान्डमा लागुऔषध र यौन तस्करी जस्ता गम्भीर अपराधहरूमा संलग्न धेरै विदेशी नागरिकहरू पक्राउ परेपछि सरकारले यो कदम चालेको हो।
थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीका अनुसार वर्तमान आर्थिक अवस्था र राष्ट्रिय सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै नीतिमा परिवर्तन गर्न आवश्यक देखिएको स्पष्ट पारेका छन् ।
यसअघि ६० दिने भिसा छुटको सुविधा पाउने देशहरूमा भारत,चीन,अमेरिका, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन रहेका थिए । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार अब यीमध्ये अधिकांश देशका नागरिकहरूले ३० दिनभन्दा बढी समय थाइल्यान्डमा बिताउन चाहेमा अनिवार्य रूपमा भिसा प्रक्रिया पूरा गर्नुपर्नेछ।