नाइजेरिया र अमेरिकाको संयुक्त सैन्य कारबाहीमा आईएसआईएस तथा पश्चिम अफ्रिकी शाखा आईएसआईएलका १७५ लडाकु मारिएको जनाइएकाे छ । नाइजेरियाली सेनाले याे कारबाहीलाई आतंकवादीलाई खोजेर समाप्त गर्ने अभियानको हिस्सा भन्दै संयुक्त कारबाहीको प्रशंसा गरेको छ ।
नाइजेरियाको रक्षा मुख्यालयका अनुसार अमेरिकी सेनाको अफ्रिका कमान्ड (अफ्रिकम) सँग मिलेर गरिएको हवाई तथा स्थल कारबाहीमा इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका आईएसआईएल सम्बद्ध चेकप्वइन्ट, हतियार भण्डार, रसद केन्द्र, सैन्य उपकरण र वित्तीय सञ्जाल ध्वस्त पारिएकाे छ ।
रक्षा प्रवक्ता मेजर जनरल समाइला उबाले मङ्गलवार जारी गरेकाे वक्तव्यमा सन् २०२६ को मे १९ सम्मको मूल्याङ्कनअनुसार १७५ आईएसआईएस आतंककारी युद्धभूमिबाट समाप्त गरिएको दाबी गरिएकाे छ। उनले यी कारबाहीले वर्षौंदेखि जारी आतङ्कवादी विद्रोहलाई ठुलो धक्का पुगेको दाबी गरेका छन् ।
संयुक्त आक्रमणमा आईएसआईएसका विश्वव्यापी दोस्रो कमान्डर भनिएका अबु–बिलाल अल–मिनुकी पनि मारिएको नाइजेरिया र अमेरिकाले बताएका छन् । उनलाई ‘अबु–माइनोक’ नामले पनि चिनिन्थ्यो । नाइजेरियाली सेनाका अनुसार अल–मिनुकीले साहेल तथा पश्चिम अफ्रिकाभर आईएसआईएसका गतिविधि, आर्थिक सञ्जाल, प्रचार संयन्त्र, हतियार उत्पादन तथा आक्रमण योजनाको नेतृत्व गर्दै आएका थिए । साेही कारबाहीमा आईएस डब्लुएपीका अर्का वरिष्ठ सदस्य अब्द–अल वहाब, अबु मुसा अल–मंगावी तथा अबु अल–मुथान्ना अल–मुहाजिर पनि मारिएको नाइजेरियाली सेनाले जनाएको छ । उनीहरू समूहको प्रचार, आक्रमण योजना र सञ्चार सञ्जालमा सक्रिय रहेको बताइएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अटल समर्थन र नेतृत्वका लागि धन्यवाद दिएका छन् । संयुक्त कारबाहीमा सहभागी सैनिकहरूको व्यावसायिकता र साहसको प्रशंसा गर्दै देशभर रहेका सबै आतङ्कवादी अड्डामाथि अझ निर्णायक कारबाही हुने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । पश्चिमा एसियामा लगातार हार व्यहोरेपछि आईएसआईएलले आफ्नो गतिविधि अफ्रिकातर्फ केन्द्रित गरेको विश्लेषण सार्वजनिक भएको छ । द्वन्द्व निगरानी संस्था एक्लेडका अनुसार २०२६ को पहिलो तीन महिनामा आईएसआईएसको विश्वव्यापी गतिविधिमध्ये ८६ प्रतिशत अफ्रिकामा केन्द्रित थियो ।
विशेषगरी ताल चाड बेसिन क्षेत्र लामो समयदेखि आतङ्कवादी हिंसाको केन्द्र बन्दै आएको छ । त्यहाँ बोको हराम र आईएसडब्लुएपीजस्ता समूहले वर्षौंदेखि हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । अमेरिकाले फेब्रुअरीमा नाइजेरियामा सैनिक पठाएको थियो । सुरुमा ती सैनिकलाई प्रशिक्षण र परामर्श भूमिकामा रहेको भनिए पनि पछिल्ला संयुक्त कारबाहीले अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नता बढ्दै गएको संकेत दिएको छ ।
अफ्रिकमले आइतबार पनि नाइजेरियाली सरकारसँग समन्वय गरेर थप काइनेटिक स्ट्राइक सञ्चालन गरिएको पुष्टि गरेको थियो । अमेरिकी र नाइजेरियाली दुवै पक्षका सैनिकलाई कुनै क्षति नभएको जनाइएको छ । तर मानवअधिकार समूहहरूले नाइजेरियाली सेनाको हवाई कारबाहीमा विगतमा सर्वसाधारण नागरिक पनि मारिएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । हालै उत्तरपश्चिमी जम्फारा राज्यको बजार क्षेत्रमा भएको अर्को हवाई आक्रमणमा सय भन्दा बढी नागरिक मारिएको आरोप पनि लागेको थियो ।