अमेरिकी सिनेटमा पारित भयो ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्ताव

आप्रवासन आप्रवासन

 

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । सात पटकको असफल प्रयासपछि अन्ततः सिनेटलेसंसदीय स्वीकृतिबिना इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्नबाट रोक्न सक्ने एउटा महत्त्वपूर्ण प्रस्ताव अघि बढाउने प्रक्रियागत प्रस्ताव पारित गरेको हो । 

मंगलबार भएको मतदानमा प्रस्ताव ५०–४७ मतले प्रस्ताव पारित भएको हो । केही रिपब्लिकन सांसदहरूले डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि यसलाई ट्रम्पमाथिको दुर्लभ राजनीतिक चुनौतीका रूपमा हेरिएको छ ।

मत परिणामले रिपब्लिकन पाटीभित्र पनि इरान युद्धबारे असन्तुष्टि बढ्दै गएको संकेत दिएको विश्लेषण गरिएको छ । युद्ध अन्त्य हुने स्पष्ट संकेत नदेखिएको, नाजुक युद्धविरामको अवस्था कायम रहेको तथा विश्व ऊर्जा बजार र घरेलु महँगीमा असर बढेको भन्दै केही रिपब्लिकन सांसदहरू समेत चिन्तित देखिएका छन् ।  “यो राष्ट्रपति भरिएको बन्दुकसँग खेलिरहेको बालकजस्तै छन्,” डेमोक्रेटिक सिनेट अल्पसंख्यक नेता चक शुमरले मतदानअघि ट्रम्पको कडा आलोचना गर्दै भने । उनले इरानसँगको युद्धबाट अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने भन्दै अहिले वार पावर्स रिजोलुशन समर्थन गर्ने उपयुक्त समय भएको बताए ।

यो प्रस्तावले अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार राष्ट्रपतिभन्दा कंग्रेससँग हुनुपर्ने बहसलाई पुनः बल दिएको छ । सांसदहरूले राष्ट्रपति ट्रम्पले स्पष्ट रणनीति वा निकास योजना सार्वजनिक नगरी अमेरिकालाई लामो युद्धमा धकेलेको आरोप लगाएका छन् । डेमोक्रेट र केही रिपब्लिकन सांसदहरूले ट्रम्पले इरानविरुद्धको युद्धका लागि कांग्रेसको औपचारिक अनुमति लिनुपर्ने माग गर्दै आएका छन् ।

यद्यपि यो केवल प्रक्रियागत मतदान मात्र भएकाले प्रस्ताव तत्काल कानुन बन्ने अवस्था छैन । मंगलबारको मतदानमा तीन रिपब्लिकन सांसद अनुपस्थित थिए । यदि उनीहरूले अन्तिम मतदानमा युद्ध समर्थन गर्ने पक्षमा मत दिए भने प्रस्ताव पराजित हुन सक्छ । त्यसपछि पनि प्रस्तावले प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ, जहाँ रिपब्लिकनहरूको बहुमत छ ।  यदि दुवै सदनबाट प्रस्ताव पारित भए पनि ट्रम्पले भिटो प्रयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तो अवस्थामा भिटो उल्टाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ ।

ट्रम्प समर्थक रिपब्लिकनहरूले यस वर्ष सिनेटमा यस्ता सातवटा प्रस्ताव अघि बढ्न रोकेका थिए । प्रतिनिधिसभामा पनि यस्तै तीन प्रस्ताव अल्पमतले असफल भएका थिए । तर पछिल्लो मतदानले ट्रम्पमाथि राजनीतिक दबाब बढ्दै गएको संकेत दिएको छ ।  अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर सुरु गरेको इरानविरुद्धको सैन्य अभियानले विश्व ऊर्जा बजारमा ठूलो अस्थिरता ल्याएको छ । तेलको मूल्य वृद्धि, आपूर्ति संकट तथा अमेरिकी जनजीवनमा बढ्दो महँगीका कारण युद्धबारे जनस्तरमा पनि प्रश्न उठ्न थालेका छन् ।