इरान युद्ध छिट्टै अन्त्य हुन सक्ने ट्रम्पको भनाइ, तेलको भाउ ओरालो लाग्यो

आप्रवासन आप्रवासन

 

विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध निकै छिटै अन्त्य हुने बताएपछि तेलको भाउ घटेको हो । 

लन्डन स्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड आयल फ्युचर्स ८८ सेन्ट अर्थात् शून्य दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ११० डलर ४० सेन्टमा आएको थियो । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि ६७ सेन्ट (शून्य दशमलव ६ प्रतिशत)ले घटेर ब्यारेलको १०३ डलर ४८ सेन्ट कायम भएको थियो ।

बजारमा भू–राजनीतिक तनाव कम हुने सम्भावना देखिएसँगै लगानीकर्ताहरूले कच्चा तेलको मूल्यमा भएको जोखिम प्रिमियम घटाएका छन् । हालैका दिनमा तेल बजारमा लगातार उतारचढावपछि बुधबार कच्चा तेलको भाउ घटेको हो । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको संकेतले बजारमा तनाव कम भएको बजार अनुसन्धान संस्था एलएसईजीमा वरिष्ठ तेल अनुसन्धान विश्लेषक इम्रिल जामिलले भने ।  लगानीकर्ताहरूले अहिले भू–राजनीतिक परिणामहरू मूल्याङ्कन गरिरहेको र यसले मूल्य अस्थायी रूपमा घटाएको उनले बताए । तर सम्झौता भए पनि तेलको आपूर्ति तुरुन्तै युद्धपूर्व स्तरमा फर्किने सम्भावना कम भएकोले मूल्य फेरि बढ्न सक्ने चेतावनी उनले दिएका छन् ।

अमेरिका र इजरायलबिचको तनाव र सैन्य कारबाहीले पछिल्ला महिनाहरूमा विश्व ऊर्जा बजारमा ठुलो अस्थिरता ल्याएको छ । यसैबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिका र इरानबिच वार्तामा प्रगति भएको बताएका थिए । उनको यो अभिव्यक्तिलगत्तै मंगलबार तेल बजारमा दुबै बेञ्चमार्कको भने झन्डै १ डलरले घटेको थियो ।