अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउननेल ट्याल्बोट स्कुलकी छात्रा एन्जल भण्डारीले रोबोटिक्समा विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय इतिहास रचेकी छन्।
सन् २०२६ को अप्रिलमा मिसौरीको सेन्ट लुइसमा सम्पन्न प्रतिष्ठित 'भेक्स रोबोटिक्स वर्ल्ड च्याम्पियनसिप'मा एन्जल सम्मिलित टोलीले विश्वभरका ७ हजारभन्दा बढी टोलीहरूलाई पछि पार्दै उपाधि जितेको हो। प्रतियोगिताको इतिहासमै दुर्लभ मानिने २३–० को अपराजित कीर्तिमानी प्रदर्शन गर्दै उनको टोली विश्व च्याम्पियन बन्न सफल भएको हो।
यस विश्वस्तरीय प्रतिस्पर्धामा एन्जलले टोली संयोजक, रणनीतिकार र सञ्चालन नेतृत्वकर्ताको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विद्यार्थीहरू आफैंले रोबोटको डिजाइन, इन्जिनियरिङ, निर्माण र प्रोग्रामिङ गरेको यस प्रतियोगितामा एन्जलको व्यवस्थापकीय कौशल र प्राविधिक दक्षता सफलताको मुख्य आधार बनेको थियो।
रोबोटिक्सका अतिरिक्त उनी अन्तर्राष्ट्रिय बिजनेस प्लान प्रतिस्पर्धामा समेत राष्ट्रियस्तरको फाइनलिस्ट बनेकी थिइन्। उनले अब न्यूयोर्कको फोर्डह्याम विश्वविद्यालयमा ग्लोबल बिजनेस र फाइनान्स विषयमा उच्च शिक्षा अध्ययन गर्ने तयारी गरेकी छन्।नेपालको संखुवासभा जिल्ला, चैनपुर पुर्ख्यौली घर भएका ग्यानेन्द्र भण्डारी र स्मृति राणा भण्डारीकी छोरी एन्जलको यो सफलताले अमेरिकामा रहेका नेपाली समुदायमा ठूलो उत्साह जगाएको छ।
नेब्रास्कामा प्रतिष्ठित रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका ग्यानेन्द्र भण्डारी त्यहाँको नेपाली समुदायका अगुवा र मार्गदर्शकका रूपमा समेत परिचित छन्। दोस्रो पुस्ताकी नेपाली-अमेरिकी एन्जलले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धि विश्वभर रहेका नेपालीहरूका लागि गौरवको विषय बनेको छ।