अमेरिका–इरान शान्ति वार्ता बढाउन पाकिस्तानी कूटनीतिक प्रयास तीव्र

आप्रवासन आप्रवासन

पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्दै शान्ति वार्तालाई पुनः गति दिन कूटनीतिक प्रयास तीव्र बनाएको छ ।

इरानले अमेरिकाबाट आएको पछिल्लो प्रस्तावमाथि समीक्षा भइरहेको जनाएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि 'सही जवाफ'का लागि केही दिन कुर्न सकिने संकेत दिएका छन् । आवश्यक परे सैन्य आक्रमण पुनः सुरु गर्न पनि आफू तयार रहेको चेतावनी भने उनले दिन छाडेका छैनन् । 

६ हप्ताअघि युद्धविराम लागु भए पनि अमेरिका–इरान वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन ।

यसबिच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेकाले विश्व अर्थतन्त्र र मुद्रास्फीतिमाथि असर पर्ने चिन्ता बढेको छ । नोभेम्बरको मध्यावधि चुनाव अगाडि ट्रम्पले घरेलु दबाबको सामना पनि गरिरहेका छन् । इन्धनको मूल्यमा भएको वृद्धिका कारण जनसमर्थन घटेको छ । पछिल्लो समय उनको प्रशासनको अनुमोदन मूल्याङ्कन ह्वाइट हाउसमा फर्किएयताकै सबैभन्दा कम बिन्दुमा झरेको छ ।

वार्ताबारे जानकारी राख्ने स्रोतहरूका अनुसार पाकिस्तानी सेना प्रमुख असिम मुनिरले बिहीबार तेहरान भ्रमण गर्ने वा नगर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ । यो भ्रमण अमेरिका–इरान वार्तामा मध्यस्थताको प्रयासको हिस्सा मानिएको छ । यसअघि पाकिस्तानका गृहमन्त्री बुधबार तेहरान पुगेका थिए ।

'हामी इरानका विभिन्न पक्षसँग सम्पर्कमा छौं ताकि संवाद सहज होस् र प्रक्रिया छिटो अघि बढोस्,' एक स्रोतले भनेको छ । उनका अनुसार ट्रम्पको धैर्यता कम हुँदै जानु चिन्ताको विषय बनेको छ, त्यसैले दुवै पक्षबिच सन्देश आदानप्रदानको गति बढाउने प्रयास भइरहेको छ । इरानी समाचार संस्था आईएसएनले पनि जनरल मुनीर तेहरान जाने तयारीमा रहेको जनाएको छ । 

ट्रम्पको चेतावनी

बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्तामा अझै केही समय दिन सकिने बताए पनि सैन्य विकल्प खुला रहेको दोहोर्‍याएका थिए । 'यदि हामीले सही जवाफ पाएनौँ भने अवस्था धेरै छिटो बदलिन सक्छ । हामी सबै तयार अवस्थामा छौं,' उनले भनेका थिए । ट्रम्पले थपे, 'यो केही दिन लाग्न सक्छ, तर परिस्थिति एकदमै छिटो बदलिन पनि सक्छ ।'

यसअघि पनि ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने आफ्नो नीति स्पष्ट पार्दै आएका छन् । 'हामी इरानबारे अन्तिम चरणमा छौं । के हुन्छ हामी हेर्छौँ । । या त सम्झौता हुन्छ, होइन भने केही कडा कदम चाल्नुपर्ने हुन सक्छ । तर आशा गरौं त्यस्तो अवस्था नआओस्,' उनले बुधबार बिहान भनेका थिए ।

इरानले यस साता अमेरिकालाई आफ्नो नयाँ प्रस्ताव पठाएको जनाएको छ । तर तेहरानको प्रस्तावमा पहिले नै ट्रम्प प्रशासनले अस्वीकार गरेका केही प्रमुख मागहरू पुनः समावेश गरिएको संकेत देखिएको छ । इरानले स्टे«ट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, अमेरिकी प्रतिबन्ध हटाउने, रोकिएका सम्पत्ति फुकुवा गर्ने  र मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने लगायत सर्त राखेको बताइएको छ ।

अमेरिकी पक्षबाट प्राप्त पछिल्ला प्रतिक्रियामाथि अध्ययन भइरहेको पनि इरानको विदेश मन्त्रालयले जनाएको छ ।