अमेरिकाले ताइवानलाई १४ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकेको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानसँगको युद्ध र सैन्य अभियानका लागि आवश्यक हतियार भण्डार सुरक्षित राख्न यो निर्णय गरिएको हो।
अमेरिकी नौसेनाका कार्यवाहक सचिव हङ काओले अमेरिकी संसद्को सुनुवाइमा यो अस्थायी रोक भएको पुष्टि गरेका हुन् । उनका अनुसार अहिलेको प्राथमिकता इरानसँग सम्बन्धित सैन्य अपरेसनका लागि आवश्यक गोला–बारुद सुरक्षित राख्नु हो।
‘हामीसँग एपिक फ्युरीको लागि आवश्यक पर्ने हतियारहरू छन् भनी सुनिश्चित गर्न हामी अहिले केही समय रोकिरहेका छौँ– जुन हामीसँग प्रशस्त छ,’ उनले भने। तर उनले ताइवानसँग यसबारे कुनै सीधा छलफल नगरेको पनि स्पष्ट पारे । ताइवानको राष्ट्रपति कार्यालयले भने यसबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ। लाई चिङ–ते नेतृत्वको सरकारले भने अमेरिकासँगको हतियार सहयोग क्षेत्रीय सुरक्षा कायम राख्न महत्त्वपूर्ण रहेको बताउँदै आएको छ
चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ भने आवश्यक परे बल प्रयोग गर्ने सङ्केत पनि दिएको छ। अमेरिकाको हतियार बिक्रीको निर्णय सधैँ राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ। अमेरिका र ताइवानबिचको हतियार सम्झौता लामो समयदेखि चीनको कडा विरोधको विषय बनेको छ। यसअघि पनि ठुलो परिमाणमा हतियार बिक्री भएपछि बेइजिङले कडा प्रतिक्रिया दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी हतियार बिक्रीलाई चीनसँगको वार्तामा मोलमोलाइको महत्त्वपूर्ण विषयका रूपमा प्रयोग गर्न सकिने सङ्केत गरेका छन्। उनले हालै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटपछि ताइवान मुद्दाबारे विस्तृत छलफल भएको पनि बताएका छन्। तर १९८२ को अमेरिकी नीतिअनुसार अमेरिकाले ताइवानसम्बन्धी हतियार बिक्रीमा चीनसँग परामर्श नगर्ने प्रतिबद्धता गरेको थियो, जुन अहिले विवादको विषय बनेको छ।