जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् ।
दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम लगाइदिने भनेर भट्टले पैसा उठाएका थिए । रातोपाटीको सम्पर्कमा आएका ८ जना नेपाली विद्यार्थीका अनुसार टोकियोको विभिन्न क्याम्पस (गाको)हरूबाट ग्राजुयसन भएका विद्यार्थीहरूलाई उनले मे २० तारिखसम्ममा वर्किङ भिसा र काम लगाइदिने भन्दै प्रतिविद्यार्थी ३ लाख जापानी येन उठाएका थिए ।
‘जापानी वकिलमार्फत कम्पनी खोजेर वर्किङ भिसामा कन्र्भट गरिदिन्छु भनेको थियो । नेपाली नै हो भनेर सहयोग माग्यौँ, पैसा र डकुमन्ेट दियौँ । उल्टै ठगिदियो । हाम्रो पैसा खानेमात्रै होइन, भविष्य नै बिगारिदिएको छ,’ टोकियोमा रहेका एक नेपाली विद्यार्थीले भने ।

‘हामीले वर्किङ भिसाका लागि चाहिने डकुमेन्ट र पैसा दिएपछि काम नहुने भए अन्य हाकेन (एजेन्ट)बाट गर्छु भन्दा पनि यहीँबाट काम गर्नुपर्छ भन्दै डकुमेन्ट पनि दिएन, अन्त अप्लाई गर्न पनि दिएन । २० तारिखमा भिसा सकिनेमा १९ तारिखसम्म काम नगरिदिएपछि हामीले अन्य जापानी वकिललाई नेपालबाट पैसा मगाएर तिरेर भिसा प्रक्रियाको काम गरेका छौँ,’ उनले भने ।
ती विद्यार्थीका अनुसार कलेजबाट ग्राजुएसन भएपछि वर्किङ भिसा नलाग्दासम्म खाली हात हुँदा धेरै नेपाली विद्यार्थी बेखर्ची बनेका छन । ‘यहाँ ग्राजुएसन भएपछि वर्किङ भिसा नहुँदा काम पनि पाइएको छैन । भिसा पनि थप्न सकेको छैन । यही बेला नेपालीले नै नेपालीलाई ठगेका छन् । प्रदिप भट्टले ठगेको मात्रै हेर्ने हो भने २० जनाभन्दा बढी त टोकियो मै भेटिन्छन्,’ उनले भने ।

ती विद्यार्थीका अनुसार भट्टलेमात्रै नेपाली विद्यार्थीहरूसँग ४० लाखभन्दा माथि रकम उठाएका छन् । ‘कतिपय साथीहरूलाई त फेक डकुमेन्ट नै दिएका थिए । पैसा त ठग्यो नै जीवन नै बर्बाद पार्यो,’ ती विद्यार्थीले भने ।
भट्टले पैसा लिएर काम नगरिदिएपछि जापानको स्थानीय प्रहरी चौकीमा समेत उनलाई विद्यार्थीहरूले लगेका थिए । ‘हामीले पैसा नदिएपछि प्रहरीकोमा लग्यौँ, त्यहाँ पनि पैसा दिन्छु भनेर कागज गर्यो । फेरि अरुलाई पनि ठग्न थालेछ,’ साइतामामा रहेका एक नेपाली युवाले भने । उनीसँग पैसा र कामको बारेमा प्रश्न गरेपछि सहरका विभिन्न स्टेशनमा बोलाएर झुक्याउने, मानसिक तनाव दिने समेत गरेको विद्यार्थीहरूको भनाइ छ ।
‘भोलि अन्तर्वार्ता छ, छिटो पैसा हाल्देऊ भनेपछि मैले ३ लाख रुपैयाँ हालिदिएँ । अन्तर्वार्ता जुममार्फत भएको थियो, तर अन्तर्वार्ता लिने मान्छेले आफ्नो अनुहार देखाएको थिएन । त्यहाँ हामी करिब ४० जना नेपाली विद्यार्थी थियौँ । मलाई पास भयौ भनियो र ३ दिनपछि एउटा नाइते (अफर लेटर) पठाइयो । मैले त्यो कम्पनी खोज्दा कतै फेला पारिनँ,’ रातोपाटीसँग एक विद्यार्थीले भने ।
आफूले उसलाई पटक–पटक विज्ञापन पठाउन आग्रह गर्दा उसले नपठाएको ती विद्यार्थीको भनाइ छ । ‘तलब कति हो र काम कहाँ, के हुन्छ भन्दा पनि केही जानकारी दिएन । त्यसपछि मैले म काम गर्दिनँ, मेरो पैसा फिर्ता देऊ भनेँ । उसले पैसा फिर्ता लिन मलाई उएनो स्टेशन बोलाएर ५ घण्टासम्म कुरायो, तर पैसा दिएन,’ उनले भने ।
टोकियोमा रहेका अर्का एक नेपाली विद्यार्थीका अनुसार उनलाई भट्टले पैसा लिएर टोकियोको एउटा होटलमा काम लगाइदिन्छु भनेर त्यो होटलको लोकेसन समेत पठाएको थियो । उनले भने, ‘अन्तर्वार्ता हुन्छ भन्दै पटक–पटक झुलायो, तर अन्त्यमा केही पनि भएन । उसले मेरो पैसामात्र खायो । यसैले गर्दा अहिले म नेपाल फर्कनुपर्ने अवस्था थियो, तर साथीहरूसँग चन्दा उठाएर बसेको छु ।’
अर्का एक विद्यार्थीले भने, ‘मेरो केसमा मलाई साथीले चिनाइदिनुभएको थियो । मेरो साथीलाई पहिला भिसा एप्लाई गरिदिएँ भनेर नक्कली कागजात देखाएको रहेछ, थाहा नै भएन । सुरुमा मलाई नागोयामा काम मिलाइदिन्छु भनेको थियो, पछि त्यहाँ नभए होटलको बेडमेकिङमा हुन्छ भन्यो । पैसा उठाएर हरायो,’ ती विद्यार्थीले भने ।
पैसा नदिएपछि भट्टलाई धेरैपटक विद्यार्थीले खोजेर समातेका थिए । समातिएपछि भट्टले ‘पर्सि दिन्छु’ भन्दै थर्काएका थिए । विद्यार्थीहरूले भिडियो खिच्न थालेपछि गाली गर्दै उनले हप्काएका थिए, तर विद्यार्थीले पैसा दिनुपर्ने भन्दै भिडियोमा बोल्न लगाएका थिए । भट्टले भिडियोमा बोले पनि पैसा भने दिएका छैनन् । ‘भिडियो नगरी पैसाको कुरा गर्दा केही विद्यार्थीहरूलाई अपशब्द बोल्दै ठेगान लगाइदिन्छु, होस गर भनेर थर्काउँथे । हाम्रो यहाँ कोही पनि छैन । केही समय त डराएरै बस्यौँ,’ ती विद्यार्थीले भने ।
रातोपाटीले भट्टलाई सम्पर्क गर्न खोज्दा उनले ‘अहिले फुर्सद छैन मेरो’ भन्दै टारे । उनले आफूलाई कसैले केही गर्न नसक्ने बताए । ‘पैसा फिर्ता दिन्छु भनिरहेको छु । कसले के गर्दा रहेछ हेरौँ न,’ उनले यति भनेर फोन काटे ।

पैसा उठाउन विद्यार्थीहरूले जापानको एनआरएन समेतलाई गुहारेका छन् । आफूहरूले भट्टलाई पक्राउ गरेर पैसा फिर्ता गरिदिन समेत अनुरोध गरे पनि एनआरएनले काम नगरेको उनीहरूको भनाइ छ । ‘हामी यहाँ मर्नु न बाँच्नु भइसकेको छ । एउटै मान्छेले यति धेरै विद्यार्थीको जीवन बिगारेको छ । हामीलाई सरकारले न्याय देओस् । उसले हाम्रो पैसामात्रै लगेको छैन, हाम्रो समय, भविष्य सबै बिगारेको छ,’ पीडित विद्यार्थीहरूले रातोपाटीसँग भने ।
हेर्नुुस् एनआरएनलाई लेखेको पत्र

दूतावास भन्छ– विद्यार्थीको बेहाल छ, नेपालबाट नआउनुहोला
यो विषयमा कुरा गर्दा टोकियोस्थित नेपाली दूतावासले धेरै विद्यार्थी समस्यामा परेको जनाएको छ । रातोपाटीसँग इमेलमार्फत प्रतिक्रिया दिँदै दूतावासले भनेको छ, ‘नेपाली विद्यार्थीहरू ठगीमा परेका गुनासाहरू यस राजदूतावासमा दिनहुँ आइरहन्छन् । यहाँ रहेका विद्यार्थीलाई एकदम गाह्रो भएको छ ।’
दूतावासले जापानमा विद्यार्थी नपठाउन बारम्बार भन्दै आएको समेत उल्लेख गरेको छ । ‘विद्यार्थी आउने प्रक्रियामा राजदूतावासको कुनै भूमिका रहँदैन । अझ प्रस्ट भन्नुपर्दा यहाँको अवस्था हेरेर हामीले विद्यार्थीहरू नपठाउन र पठाउँनै पर्दा थप अध्ययन गरेरमात्र पठाउन बारम्बर नेपालका निकायहरूमा अनुरोध गर्दै आएका छौँ । यहाँको जानकारीका लागि एउटा पत्र संलग्न छ ।’
दूतावासका अनुसार जापान आउनका लागि विद्यार्थीहरूले चर्को शुल्क नेपालमै तिरेका हुन्छन् र आकर्षक कामको प्रलोभन दिएको हुन्छ, जुन यहाँ आएपछि पूरा हुँदैनन् । ‘यहाँ साताको २८ घन्टामात्र काम गर्न पाइन्छ र अत्यन्त महँगो देश हो । यसरी कोही ठगिएका छन् भने नेपालको कन्सल्टेन्सी उपर नेपालकै निकायमा उजुरी गर्दा थप प्रभावकारी हुन्छ,’ दूतावासले भनेको छ ।
जापानमा नेपालीहरूले नै विद्यार्थीहरूलाई ठगिएको विषयमा न्याय दिलाउन पहल गरिने दूतावासले जनाएको छ । ‘जापानमा आएर यहीँ ठगिएकाहरूको हकमा यहाँको स्थानीय प्रहरीमा उजुरी गरेर दूतावासलाई जानकारी दिएमा हामी न्याय दिलाउन पहल गर्छौं र गरिरहेका पनि छौँ,’ दूतावासले भनेको छ ।