मलेसियामा जहाज मर्मत गर्ने क्रममा भएको दुर्घटनामा तीन जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनास अन्तर्गत सञ्चालनमा रहेको जहाजमा आइतबार दिउँसो उक्त दुर्घटना भएको हो।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो करिब १२ : ५० बजे एफएसओ सेपात (FSO Sepat) नामक फ्लोटिङ स्टोरेज एन्ड अफलोडिङ जहाजमा लाइफबोट मर्मत गर्ने क्रममा दुर्घटना भएको थियो। मर्मतका क्रममा लाइफबोटलाई अड्याइएको हुक अचानक फुत्किएपछि बोट सिधै समुद्रमा खसेको बताइएको छ।
दुर्घटनापछि चारै जना कामदारलाई तत्काल उद्धार गरेर अस्पताल पुर्याइएको थियो। तर तीन जनालाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरिएको कम्पनीले जनाएको छ। गम्भीर घाइते एक कामदारको भने सुल्तानाह नुर जाहिराह अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रहरीका अनुसार कामदारहरू मर्मत कार्यका लागि लाइफबोटमार्फत समुद्र सतहतर्फ झर्ने तयारीमा रहेका बेला अचानक हुक फुत्किएको थियो। दुर्घटना मलेसियाको पूर्वी तटीय राज्य तेरेङ्गानु नजिक समुद्री क्षेत्रमा भएको बताइएको छ।
घटनापछि कम्पनीले सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
मलेसियामा लाखौं विदेशी श्रमिक कार्यरत छन्, जसमा ठूलो संख्या नेपाली कामदारहरूको पनि छ। पछिल्लो घटनाले समुद्री तथा औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा व्यवस्था र कार्यस्थलमा अपनाउनुपर्ने सावधानीबारे फेरि प्रश्न उठाएको छ।