गाजामा फ्लोटिला राहत अभियन्तामाथि दुर्व्यवहार, इजरायलको आलोचना

आप्रवासन आप्रवासन

 

 गाजातर्फ मानवीय सहायता बोकेर गइरहेको ‘ग्लोबल सुमुद फ्लोटिला’का अभियानकर्मीमाथि इजरायली सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।  फ्लोटिलाको राहत आपूर्ति अभियानमा सहभागी विदेशी नागरिकमाथि गरिएको दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि विश्वका विभिन्न देशहरूले इजरायलप्रति प्रतिक्रिया जनाउन थालेका छन् । 

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले उक्त घटनालाई ‘भयानक र अस्वीकार्य’ भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन् । तर उनले इजरायलमाथि कुनै नयाँ प्रतिबन्ध वा दण्डात्मक कदमको भने घोषणा गरेका छैनन् ।

 

क्यानडाली सरकारले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्नीले इजरायली राष्ट्रपति आइज्याक हरजोगसँग टेलिफोन वार्ता गर्दै फ्लोटिलाका सहभागीमाथि भएको दुर्व्यवहारबारे स्वतन्त्र छानबिनको माग गरेका हुन् ।

गत साता इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन–ग्भिरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा गाजातर्फ जाँदै गरेका अभियानकर्मीहरूलाई बाँधिएको, घुँडा टेक्न बाध्य पारिएको तथा अपमानजनक व्यवहार गरिएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विश्वव्यापी आलोचना सुरु भएको छ ।

क्यानडाली विज्ञप्तिमा भनिएको छ, ‘गाजातर्फ गइरहेका जहाजमा रहेका सर्वसाधारण, जसमा क्यानडाली नागरिकसमेत थिए, उनीहरूमाथि गरिएको भयावह दुर्व्यवहार अस्वीकार्य छ ।’

कार्नीले टेलिफोन वार्ताका क्रममा कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा इजरायली अवैध बस्ती विस्तारको विरोध समेत गरेका थिए । साथै उनले यहुदी बिस्तारवादी समूहबाट भइरहेको हिंसात्मक गतिविधिप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

यस घटनापछि केही मुलुकहरूले इजरायलविरुद्ध कूटनीतिक कदम चाल्न थालेका छन् । फ्रान्स ले बेन–ग्भिरलाई आफ्नो भूमिमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । फ्रान्सले फ्लोटिलामा रहेका युरोपेली तथा फ्रान्सेली नागरिकमाथि गरिएको व्यवहारलाई ‘अकल्पनीय’ भनेको छ ।

त्यस्तै पोल्याण्डले पनि बेन–ग्भिरमाथि पाँच वर्षे प्रवेश प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको छ । फ्रान्स र क्ष्तबथिका नेताहरूले युरोपेली संघलाई समेत इजरायली मन्त्रीविरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

मानवअधिकारवादी संस्थाहरूले इजरायली जेलहरूमा यातना र अमानवीय व्यवहार हुने गरेको आरोप लगाउँदै आएका छन् । एमनेस्टी इन्टरनेसलन जस्ता संस्थाले इजरायलमाथि प्यालेस्टिनीहरूविरुद्ध रंगभेदी नीति लागू गरेको आरोप लगाएका छन् ।

‘ग्लोबल सुमुद फ्लोटिला’ गाजामा जारी इजरायली नाकाबन्दी र सैन्य कारबाहीविरुद्ध सहायता पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियान हो । सन् २०२३ अक्टोबरदेखि जारी युद्धमा ७५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ । युद्धका कारण हजारौं मानिस विस्थापित भएका छन् भने गाजामा खाद्य अभाव र कुपोषण गम्भीर बनेको छ ।

अभियानकर्ताहरूले भूमध्यसागरमार्फत गाजामा राहत सामग्री पु¥याउने प्रयास गर्दै आएका छन् । तर इजरायली सेनाले बारम्बार ती जहाजहरूलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमै रोकेको आरोप लाग्दै आएको छ ।

गत अप्रिल १२ मा सुरु गरिएको नयाँ अभियानमा करिब ७० वटा डुंगा र तीन हजार सहभागी रहेको बताइएको छ । एमनेस्टी इन्टरनेसलनका अनुसार इजरायली सेनाले जहाज नियन्त्रणमा लिएपछि झन्डै ४३० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियानकर्ताहरूले हिरासतका क्रममा दुर्व्यवहार, कुटपिट तथा यौन हिंसासमेत भएको आरोप लगाएका छन् । कम्तीमा १५ जनाले यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास भएको बताएका छन् ।

इजरायलले भने कुनै प्रमाण प्रस्तुत नगरी ती अभियानकर्मीहरू हमासबाट प्रेरित रहेको दाबी गरेको छ । बेन–ग्भिरले उनीहरूलाई ‘आतंकवाद समर्थक’ को संज्ञा दिएका छन् ।

यसैबीच, क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले पनि इजरायली विदेशमन्त्री गिडिओन सारसँग कुरा गर्दै पक्राउ परेका क्यानडाली नागरिकमाथि गरिएको दुर्व्यवहारबारे प्रमाण उपलब्ध गराइने बताएकी छन् ।

उनले हिरासतमा रहेका क्यानडाली नागरिकलाई कन्सुलर सेवा उपलब्ध नगराइनु भियना सन्धिको उल्लङ्घन भएको भन्दै भविष्यमा यस्तो घटना दोहोरिन नहुने चेतावनी दिएकी छन् ।