'मानवतस्करी’ शैलीमा २३ सय विद्यार्थी बेलायत ओसारियो, बीपीपी युनिभर्सिटी र फ्र्यांकलिन कन्सल्टेन्सीको मिलेमतो

आप्रवासन आप्रवासन

नेपालबाट बेलायत पठाइएका करिब २ हजार ३ सय विद्यार्थीको विषयमा गम्भीर अनियमितताको आरोप सार्वजनिक भएको छ। 

बेलायतको बीपीपी युनिभर्सिटी र फ्र्यांकलिन एजुकेसन कन्सल्टेन्सीले उच्च शिक्षाका नाममा विदेश जाने सपना बोकेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै ‘मानवतस्करी’को शैलीमा बेलायत पुर्याइएको पाइएको छ ।

शिक्षा मन्त्रालयबाट विद्यार्थीले लिएको एनओसी ‘हेल्थ एन्ड केयर’ कार्यक्रमलाई फ्र्यांकलिन एजुकेसन कन्सल्टेन्सीले ब्याचलर तह भनेर देखाइएको छ। तर सोही विश्वविद्यालयले दिएको अफर लेटरमा भने कार्यक्रम १२ महिनाको मात्रै रहेको दाबी गरिएको छ।

कसरी भयो मानव तस्करी ?

फ्र्यांकलिन कन्सल्टेन्सीले बीपीपी युनिभर्सिटीसँग मिलेर करिब डेढ वर्षअघि नेपाली विद्यार्थीलाई लक्षित गरेर एउटा कार्यक्रम ल्याएको थियो, जसको नाम ‘बीएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप) थियो ।

यो १२ महिने टपअप कोर्सका लागि शिक्षा मन्त्रालयले एनओसी दिने कुुनै प्रावधान छैन । तर, त्यहाँको १२ महिने कोर्षलाई यहाँ तीन वर्षे रहेको भन्दै नक्कली कागजात तयार पारेर शिक्षा मन्त्रालयको एनओसी शाखामा बुझाइएको थियो । 

एनओसी शाखाका कर्मचारीहरूले कागजात र तथ्यहरु चेकजाच नै नगरी अफर लेटर इस्यु गरिदिए। यसबाटै सुुरु भयो मानवतस्करी ।

विश्वविद्यालयले विद्यार्थीलाई दिएको अफर लेटरमा उक्त कार्यक्रम १२ महिनाको रहेको स्पष्ट उल्लेख छ । तर, फ्र्यांकलिन र अन्य कन्सल्टेन्सीहरूले उक्त अफर लेटरमा छेडखानी गरी ‘हेल्थ एन्ड केयर’ नाम राखेर त्यसलाई तीन वर्षे ब्याचलर कोर्स भनी नक्कली डकुमेन्ट तयार पारे । यही नक्कली कागजातका आधारमा विद्यार्थीहरूले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट सहजै एनओसी लिए ।

हेर्नुहोस् तस्वीर- 

संलग्न संस्थाहरूको नियोजित मिलोमतो

यो तस्करीको श्रृङ्खलामा मुख्यतः तीन पक्षहरू संलग्न छन् । तस्करीको पहिलो योजनाकार हो फ्र्यांकलिन एजुकेसन कन्सल्टेन्सी। बेलायतमा मुख्य कार्यालय भए पनि यसले नेपालमा बसेर नक्कली डकुमेन्टका आधारमा ‘मानवतस्करी’ गरिरहेको छ । अहिले यसको नाम फेरेर ‘दी अफिसियल रिप्रिजेन्टेटिभ एलएलसी’ बनाइएको छ । फ्र्यांकलिन नामको वेबसाइट पनि खोल्न नमिल्ने बनाइएको छ ।

त्यस्तै तस्करीको दोस्रो योजनाकार हो बीपीपी युनिभर्सिटी । पैसा कमाउने उद्देश्यले कुनै औचित्य र भविष्य नै नभएको ‘टपअप’ कोर्सलाई स्नातक तहको भन्दै प्रचार गरी विद्यार्थी ओसार्ने काममा विश्वविद्यालय आफैँ संलग्न रहेको देखिन्छ ।

तस्करीको मुख्य योजनाकार हुन् दीपक खड्का । उनले विश्वविद्यालयसँग ‘एक्सक्ल्युसिभ एग्रिमेन्ट’ गरी अन्य एजेन्सीलाई गलत सूचना प्रवाह गरिरहेको आरोप छ । यसबारे कुराकानी गर्न खोज्दा खड्का सम्पर्क बिहिन भएका छन्।

के कन्सल्टेन्सी दर्ता छ ?

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक परामर्शदाता संस्थाहरूको सूचीमा फ्र्यांकलिन नाम नै छैन । तर, यसले कमलपोखरीमा आफ्नो कार्यालय रहेको भन्दै सामाजिक सञ्जालहरूमार्फत व्यापक प्रचार(प्रसार गर्ने गरेको छ ।

यो तस्करीमा शिक्षा मन्त्रालयका एनओसी शाखाका केही कर्मचारीहरूको पनि मिलेमतो रहेको देखिन्छ । मन्त्रालयका कर्मचारीहरू भने नक्कली डकुमेन्ट पेस गरेर एनओसी लिइरहँदा समेत चुप बसेको देखियो ।

तर, एनओसी हालसालै सरूवा भएर अर्को शाखामा गएका एनओसी शाखाका तत्कालीन प्रमुख विरेन्द्रजंग थापाले आफू प्रमुख रहँदा यस्ता कार्यक्रमहरूलाई एनओसी दिन रोकेको दाबी गरेका छन् । थापाले पहिला यस्ता कार्यक्रमहरूमा एनओसी दिए पनि आफुुु प्रमुख भएर आएपछि यस्ता टप(अप कार्यक्रमहरूमा एनओसी दिन बन्द गरेको बताएका छन् ।

पीडित विद्यार्थीको गुनासो र कानुनी जटिलता

अध्ययनका नाममा बेलायत पुगेका दर्जनौं विद्यार्थीहरू त्यहाँ पुगेपछि मात्र ठगिएको महसुस गरेपश्चात आफुु ठगिएको भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाएर राखेका छन् ।

बीपीपी विश्वविद्यालयको यो कोर्स स्वास्थ्य क्षेत्रको नभई व्यवस्थापनतर्फको जस्तो देखिन्छ । यसले विद्यार्थीलाई क्लिनिकल वा प्राविधिक स्वास्थ्यसम्बन्धी कुनै गहन ज्ञान दिँदैन, बरु सतही कुरा मात्र सिकाउँछ ।साथै यो कोर्सले बेलायतमा स्थायी बसोबास ९पीआर०को बाटो पनि खोल्दैन र नेपाल फर्किएपछि पनि डिग्रीको कुनै मान्यता ९समकक्षता० पाइँदैन । लाखौँ रुपैयाँ खर्चिएर विदेशिएका युवाहरूको शैक्षिक भविष्य नै अन्योलमा परेको छ ।

एनओसी शाखामा कार्यरत कर्मचारीहरूले अफर लेटर जाँच गर्ने ठाउँ नभएको भन्दै विवशता व्यक्त गरे । एनओसी शाखाका एक कर्मचारी भन्छन्,शङ्का लागेपछि मात्र खोजी हुने हो, नत्र यहाँ यति धेरै प्रेसर हुन्छ कि, अफर लेटर र अन्य डकुमेन्ट राम्रोसँग जाँच गर्न पाइँदैन ।’उनले राजस्व तिरिसकेपछि एनओसी नदिँदा कानुनी झमेला आउने डरले बदमासी थाहा हुँदाहुँदै पनि एनओसी दिनुपर्ने बाध्यता रहेको बताए ।

एक वर्षको छोटो अवधिमा डिग्री पाइने प्रलोभनमा विद्यार्थीले १३ हजार स्टर्लिङ पाउन्ड (करिब साढे २६ लाख) शुल्क बुझाएका हुुन्। आइएलटीएस नचाहिने भन्दै  फ्र्यांकलिन कन्सल्टेन्सी जस्ता संस्थाहरूले विद्यार्थीलाई प्रलोभनमा पारेका छन् । यो शैक्षिक परामर्श नभई विद्यार्थीको कमजोरीलाई ‘आम्दानीको स्रोत’ बनाउने एउटा संगठित गिरोहको व्यवसाय रहेको सम्पूर्ण घटनाक्रमले पुष्टि गरेको छ ।

विद्यार्थी ओसारपसारको धन्दा

बेलायतको उच्च शिक्षा तथ्यांक एजेन्सी ९हेसा०को तथ्यांक अनुसार २०२३र२४ मा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १२,७१० थियो ।

२०२४/२५ मा यो संख्या बढेर झन्डै दोब्बर २४,४४५ पुगेको छ । एक वर्षमै ९२.३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यस वृद्धिमा बीपीपी विश्वविद्यालय सबैभन्दा अगाडि रहेको उक्त तथ्यांकमा उल्लेख छ । उक्त विश्वविद्यालयमा पहिला नेपाली विद्यार्थीको संख्या ६३० रहेकोमा एक्कासी बढेर २८ सय ७५ पुगेको छ ।

नक्कली एनओसी र भ्रामक प्रचार गरेर फ्र्यांकलिन र अन्य कन्सल्टेन्सीहरूले विश्वविद्यालयकै सेटिङमा मानवतस्करीको शैलीमा नेपाली विद्यार्थी त्यहाँ पुर्याएको पुष्टि हुन्छ ।