स्ट्रेट अफ होर्मुज विवादमा ओमानलाई ट्रम्पको धम्की : ‘नियम नमाने उडाइदिन सक्छौँ’

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रणको विषयलाई लिएर ओमानलाई सैन्य कारबाहीको धम्की दिएका छन् ।

बुधबार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा एक पत्रकारले ओमान र इरानले संयुक्त रूपमा स्ट्रेट अफ होर्मुजको व्यापारिक आवत जावत व्यवस्थापन गर्ने सम्भावनाबारे ट्रम्पको धारणा सोधेका थिए । उक्त जलमार्ग विश्वको कुल तेल ढुवानीको २० प्रतिशतभन्दा बढीका लागि प्रयोग हुने रणनीतिक समुद्री मार्ग हो ।

‘यदि इरान र ओमानलाई छोटो अवधिका लागि स्ट्रेटमाथि नियन्त्रण गर्न दिइयो भने के तपाईं स्वीकार गर्नुहुन्छ ?’ पत्रकारले प्रश्न गरेका थिए । ‘कसैले पनि त्यसलाई नियन्त्रण गर्ने छैन । त्यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र ओमानले अरू सबैले जस्तै व्यवहार गर्नुपर्छ, नत्र हामीले तिनीहरूलाई उडाइदिनुपर्ने हुन्छ’ जवाफमा ट्रम्पले भनेका थिए ।

सुरुमा ट्रम्पले गल्तीले इरान भन्नुपर्ने ठाउँमा ओमान भनेको हुनसक्ने अनुमान गरिएको थियो । तर पछि अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत ट्रम्पको अभिव्यक्तिको आधिकारिक प्रतिलिपि सार्वजनिक गर्दै उनले वास्तवमै ओमानकै नाम उल्लेख गरेको पुष्टि गरेको थियो ।

ओमानले भने आफू इरानसँग मिलेर स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रण गर्न चाहेको कुनै सार्वजनिक धारणा व्यक्त गरेको छैन । तटस्थ परराष्ट्र नीतिका लागि परिचित ओमान र अमेरिका दुई सय वर्षभन्दा लामो सम्बन्ध भएका निकट सहयोगी राष्ट्र हुन् । दुई देशबिच सुरक्षा साझेदारी, स्वतन्त्र व्यापार सम्झौता तथा विज्ञान–प्रविधि सहकार्यजस्ता विभिन्न सम्झौताहरू छन् ।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न वासिङ्टन र तेहरानबिच मध्यस्थकर्ताको भूमिकामा ओमान सक्रिय रहेको थियो । ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई उनको विदेश नीतिमा बढ्दो सैन्य दबाबको रणनीतिका रूपमा हेरिएको छ, जसलाई कतिपयले ‘गनबोट डिप्लोमेसी’ भनेर व्याख्या गरेका छन् ।

यद्यपि, उनको अभिव्यक्तिको व्यापक आलोचना भएको छ । अमेरिकास्थित मानवअधिकार संस्था डनका वकालत निर्देशक रेड जरारले ट्रम्पको टिप्पणीलाई ‘माफिया गिरोहका प्रमुखको शैली’ सँग तुलना गरेका छन् ।

‘संयुक्त राष्ट्रसङ्घको चार्टरले कुनै पनि राष्ट्रविरुद्ध बल प्रयोग गर्ने धम्की दिन निषेध गरेको छ र त्यो नियम अमेरिकामा पनि उत्तिकै लागू हुन्छ,’ उनले अल जजिरासँग भने । ‘केवल अमेरिकाले पुनः सञ्चालन गर्न चाहेको तेल मार्ग नजिक समुद्री क्षेत्र भएको कारण कुनै अरब राष्ट्रलाई ‘उडाइदिने’ धम्की दिनु भनेको यही वर्ष फेब्रुअरीमा सुरु भएको युद्ध निम्त्याउने गैरकानुनी मानसिकताको निरन्तरता हो,’ अझ अगाडि उनले भने ।

यो विवाद इरानको सरकारी टेलिभिजनले इरान र ओमानबिच स्ट्रेट अफ होर्मुजको संयुक्त व्यवस्थापनसम्बन्धी समझदारी पत्र (एमओयू) को प्रारूप तयार भएको दाबी गरेपछि चर्किएको हो । तर ट्रम्प प्रशासनले उक्त रिपोर्टलाई ‘पूर्ण रूपमा बनावटी’ भनेको छ ।

विश्व ऊर्जा तथा मल ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज दशकौँदेखि स्वतन्त्र अन्तर्राष्ट्रिय मार्गका रूपमा सञ्चालन हुँदै आएको छ । तर फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि बमबारी सुरु गरेपछि तेहरानले स्ट्रेट बन्द गर्दै त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्न थालेको थियो । जलमार्गका केही भाग इरान र ओमान दुवैको समुद्री सीमाभित्र पर्छन् ।

यसैबिच ट्रम्पले बुधबारको बैठकमा साउदी अरेबिया र कतारसहितका अरब राष्ट्रहरूले इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गर्नुपर्ने माग पनि दोहोर्‍याए । उनले आफ्नो पहिलो कार्यकालमा ‘अब्राहम एकड्र्स’ मार्फत अरब राष्ट्रहरू र इजरायलबिच सम्बन्ध सामान्यीकरण गराउने प्रयास गरेका थिए । पछिल्ला दिनमा उनले पुनः यही एजेन्डालाई प्राथमिकतामा राख्दै थप अरब राष्ट्रहरूले सहमति नगरे अमेरिका वार्ताबाट पछि हट्न सक्ने चेतावनी दिएका छन् ।

‘मेरो विचारमा उनीहरूले हाम्रो लागि त्यो गर्नुपर्छ,’ ट्रम्पले भने । पछि उनले थपे, ‘यदि उनीहरूले हस्ताक्षर गर्दैनन् भने सायद हामीले सम्झौता नै गर्नुहुँदैन ।’ यस विषयमा टिप्पणी माग्दा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।