अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउने पत्रिकाकी पूर्व स्तम्भकार ई. जीन क्यारोलमाथि आपराधिक अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको केन्द्रमा क्यारोलले आफ्ना दुई नागरिक मुद्दाहरूमा दिएको बयानमा झुटो बोलेको हुन सक्ने सम्भावना रहेको छ । ती मुद्दाहरूमध्ये एकमा ट्रम्पले सन १९९० को मध्यतिर न्यूयोर्कको एक डिपार्टमेन्ट स्टोरमा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको आरोप छ । दोस्रो मुद्दा २०१९ मा ट्रम्पले आरोप अस्वीकार गर्दै उनलाई बदनाम गरेको सम्बन्धी हो ।
अभियोजन पक्षका अनुसार मुख्य विवाद सन २०२२ को डिपोजिसनमा क्यारोलले ‘मुद्दाको खर्च कुनै बाहिरी व्यक्तिले तिरेको छैन’ भनेको बयान छ । तर पछि अर्बपति रिड हफम्यानले उनको कानुनी खर्चको केही भाग तिरेको तथ्य सार्वजनिक भएको थियो । क्यारोलका वकिलहरूले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । होफम्यानसँग सम्पर्क गर्ने प्रयास पनि असफल भएको बताइएको छ ।
ट्रम्पका राजनीतिक र व्यक्तिगत विरोधीहरूलाई लक्षित गर्ने प्रयास गरिरहेको भन्दै न्याय मन्त्रालयको आलोचना भइरहँदा यो अनुसन्धान सुरु भएको हो । हाल कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चको नेतृत्वमा न्याय मन्त्रालयले ट्रम्पको कानुनी प्रतिशोध अभियानलाई छिटो अघि बढाउने प्रयास गरिरहेको छ । तर यसका धेरै मुद्दाहरू राजनीतिक प्रभावका कारण अदालतमा चुनौतीमा पर्ने सम्भावना रहेको बताइन्छ । ब्लान्च पहिले ट्रम्पका व्यक्तिगत वकिल थिए र क्यारोलसम्बन्धी अपिलहरूमा संलग्न थिए । त्यसैले उनलाई यस विशेष अनुसन्धानबाट अलग गरिएको छ ।
सूचनाअनुसार यो मुद्दा अमेरिकी न्याय मन्त्रालयको उप–महान्यायाधिवक्ताको कार्यालयले सम्हालिरहेको छ र अनुसन्धानका लागि केस शिकागोका संघीय अभियोजनहरूलाई पठाइएको छ । अनुसन्धानको आधार क्यारोलको २०२२ को भिडियो डिपोजिसन हो, जसमा उनले कुनै बाहिरी संस्था वा व्यक्तिले उनको कानुनी खर्च नतिरेको बताएकी थिइन् । तर ट्रायल सुरु हुनुभन्दा दुई हप्ता अघि मात्रै उनका वकिलहरूले केही खर्च होफम्यानको गैरनाफामूलक संस्थामार्फत बेहोरेको जानकारी दिएका थिए ।
क्यारोलका वकिलहरूले उनले उक्त संस्थासँग कहिल्यै सम्पर्क नगरेको दाबी गरेका छन् । ट्रम्पका वकिल एलिना हब्बाले यसलाई सत्य लुकाउने प्रयास भनेकी थिइन् । न्यायाधीश लुइस कपलानले पछि ट्रम्पका वकिलहरूलाई फेरि क्यारोलसँग डिपोजिसन गर्न अनुमति दिएका थिए, तर उनीमाथि विश्वसनीयतासम्बन्धी गम्भीर प्रश्न नरहेको पनि बताए । क्यारोल अहिले ट्रम्पसँग सम्बन्धित अन्य कानुनी मुद्दामा पनि संलग्न छिन् । जूरीहरूले उनलाई लाखौं डलर क्षतिपूर्ति दिने फैसला सुनाइसकेका छन् । यो फैसलाविरुद्ध ट्रम्पले पुनरावेदन अदालतमा मुद्दा हालेका छन् । ट्रम्पले ती फैसलाहरू सर्वोच्च अदालतमा लैजाने प्रयास पनि गरेका छन् ।
यसबिच सर्वोच्च अदालतले ट्रम्पको अपिल स्वीकार गर्ने कि नगर्ने विषयमा बारम्बार निर्णय सार्दै आएको छ, पछिल्लो पटक बुधबार यसमा फेरि ढिलाइ गरिएको थियो । अर्को मुद्दामा ट्रम्पले न्याय मन्त्रालयलाई प्रतिवादीका रूपमा आफूलाईसमावेश गर्न आग्रह गरेका थिए । धेरै ढिलो उठाइएको भन्दै अदालतले उक्त दाबी अस्वीकार गरेको थियो ।
आप्रवासन