अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै प्रशासनसँग मिलेर आफ्ना सहयोगीहरूका लागि ‘एन्टी–वेपनाइजेसन फन्ड’ स्थापना गर्ने सम्झौता गरेका छन् । यो कदम उनको दोस्रो कार्यकालमा राष्ट्रपतीय शक्तिमाथिका नियन्त्रणहरू कमजोर बनाउने र भविष्यमा आफूविरुद्ध हुन सक्ने अनुसन्धानबाट जोगिने प्रयासको पछिल्लो उदाहरण हो ।
यो सम्झौताले ट्रम्पले निर्माण गरिरहेका नयाँ अवरोधहरूलाई देखाउँछ, जसले भविष्यमा कंग्रेसका डेमोक्रेट सदस्यहरू, आगामी प्रशासनहरू, यहाँसम्म कि संघीय सरकारबाहिरका निकायहरूले गर्ने अनुसन्धानसमेत कठिन बनाउन सक्छ ।
धेरै पक्षहरूमा ट्रम्पले वाटरगेट काण्डपछि लागु गरिएका पारदर्शितासम्बन्धी व्यवस्थाहरू कमजोर पारिरहेका छन् । उनले कंग्रेसको बजेट नियन्त्रण गर्ने अधिकारमाथि आक्रमण गरेका छन्, आफ्ना उद्देश्यका लागि अपराध गरेको आरोप लागेका बफादार समर्थकहरूलाई पुरस्कृत गरेका छन् र स्वतन्त्र निकाय तथा कार्यकारी शाखाका निगरानी संयन्त्रहरूमाथि प्रहार गरेका छन् ।
पूर्व सरकारी वकिलहरू र संवैधानिक कानुनका विद्वानहरूका अनुसार ट्रम्पले यो सबै काम सर्वोच्च अदालतले समर्थन गरेको राष्ट्रपतीय शक्तिको विस्तारलाई उपयोग गर्दै र अझ तीव्र बनाउँदै गरेका छन् । साथै उनले पहिलेका राष्ट्रपतिहरूलाई सीमित गर्ने राजनीतिक मान्यता र परम्पराहरूलाई बेवास्ता गरेका छन् ।
१९७० को दशकमा रिचर्ड निक्सन प्रशासनसँग सम्बन्धित घोटालापछि कंग्रेसले राष्ट्रपतिको शक्तिमा नियन्त्रण गर्ने कानुनहरू बनाएको थियो । त्यस समयका अदालतहरूले ती कानुनलाई समर्थन गरेका थिए । ‘अहिले हामीले राष्ट्रपतिको पक्षमा शक्तिको नाटकीय झुकाव देखेका छौँ, जहाँ कार्यकारी शक्ति राष्ट्रपतिमै केन्द्रित हुँदै गएको छ र अब त्यो विभिन्न निकायहरूमा बाँडिएको छैन,’ युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया गाउल्ड स्कुल अफ लका प्राध्यापक एडम जिम्मरम्यानले भने । ‘हामीले यस्तो व्यक्ति पनि देखिरहेका छौँ, जो त्यो शक्तिलाई यसको चरम सीमासम्म प्रयोग गर्न तयार छ,’ अझ अगाडि उनले थपे ।
हालैको यो कदम ट्रम्पले आन्तरिक राजस्व सेवाविरुद्ध दायर गरेको कानुनी रूपमा विवादास्पद मुद्दा फिर्ता लिएपछि भएको विरोधाभाषी सम्झौता हो । सुरुआतमा सार्वजनिक गरिएभन्दा यो अझ व्यापक सुरक्षा दिने प्रकृतिको छ । यसको भाषा केवल करसम्बन्धी अनुसन्धानबाट होइन, अन्य प्रकारका अनुसन्धानबाट समेत ट्रम्पलाई जोगाउने खालको हुन सक्छ ।
‘यो फन्डको घोषणाले हामीले यस कार्यकालमा देखेका धेरै प्रवृत्तिहरूलाई स्पष्ट बनाएको छ– अर्थात् राष्ट्रपतिले सरकारी शक्तिको दुरुपयोग गर्दै आफ्ना शत्रुहरूलाई दण्डित गर्ने र आफ्ना साथीहरूलाई पुरस्कृत गर्ने गरेका छन् । यसमा राष्ट्रपतिका लागि कानुन तोड्नेहरूलाई समेत छन्,’ सोसाइटी फर द रुल अफ लका कार्यकारी निर्देशक ग्रेग नुन्जियाटाले भने ।
न्याय मन्त्रालयका एक प्रवक्ताका अनुसार यो कोष आफ्नो विश्वासका कारण अन्यायपूर्ण रूपमा निशाना बनाइएका अमेरिकीहरूको गुनासो सुन्न र त्यसको समाधान गर्न बनाइएको हो । ‘जो मानिसहरू एन्टी–वेपनाइजेसन फन्डबाट असन्तुष्ट छन्, उनीहरूले सम्झनुपर्छ कि हामी यो अवस्थामा पुगेका हौँ, किनभने राष्ट्रपतिको कर विवरण गैरकानुनी रूपमा चुहाइएको थियो र अघिल्ला प्रशासनहरूले आफ्ना राजनीतिक विरोधीहरूलाई सताउन कानुन कार्यान्वयन निकायहरूको प्रयोग गरेका थिए,’ उनले थपे ।
कर जाँचभन्दा बाहिर फैलिएको सुरक्षा
नयाँ सम्झौताले ट्रम्प, उनका व्यवसाय र परिवारलाई दिने करसम्बन्धी उन्मुक्ति अर्काे दिन चुपचाप सार्वजनिक गरिएको परिशिष्टमार्फत खुलासा भएको थियो । ट्रम्पले आफ्नो कर विवरण चुहावटबारे संघीय सरकारविरुद्ध दायर गरेको १० अर्ब डलरको मुद्दा फिर्ता लिनुको बदलामा आईआरएसले विगतका कर जाँचहरू त्यागेको न्याय मन्त्रालयका अधिकारीहरूले कोषको बचाउ गर्दै भनेका छन् ।
कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले सीएनएनसँग भने, ‘हरेक सम्झौतामा दुवै पक्षले केही न केही त्याग गर्छन् ।’ यो सम्झौताको भाषा केवल आईआरएस वा अर्थ मन्त्रालयले ल्याउने दाबीमा सीमित छैन, कुनै पनि सरकारी निकायले ल्याउने दाबीमा लागू हुन सक्ने देखिन्छ । यद्यपि यसको मुख्य ध्यान आपराधिक नभएर नागरिक मुद्दाहरूमा केन्द्रित रहेको न्याय मन्त्रालयले सीएनएनलाई स्पष्ट पारेको छ । सम्झौताले मे १९ अघि भएको ट्रम्पसम्बन्धी गतिविधिहरूसँग सम्बन्धित दाबीहरूलाई मात्र समेट्ने पनि मिन्त्रालयले जोड दिएको छ ।